दूतावासको आग्रह: हुण्डी, हवाला नगर

साउदी अरवस्थित नेपाली दूतावासले आधिकारिक मनि ट्रान्सफर कम्पनी मार्फत रकम नेपाल पठाउन अनुरोध गरेको छ । बैंकिङ वा आधिकारिक ट्रान्सफर माध्यमबाट रकम पठाउँदा सुरक्षित, भरपर्दो र सहजै आफन्तले प्राप्त गर्ने दूतावासको भनाई छ ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै बैंक खाता नभएको खाता खोल्न, आफ्नो खातामा पैसा पठाउने बानीको विकास गर्न अनुरोध गरेको छ । त्यसरी बैंक खाता खोल्ने भएमा सहयोग गर्न केहि नेपाली बैंकका प्रतिनिधिहरु साउदी अरवमा उपलव्ध हुने पनि दूतावासले जनाएको छ ।
हुण्डी, हवाला तथा अन्य यस्तै किसिमबाट पैसा पठाउने माध्यम अवैधानिक भएको र त्यसरी पैसा पठाउँदा पठाउने व्यक्ति समेत जुनसुकै समयमा समस्यामा पर्न सक्ने तर्फ दूतावासले सजग गराएको छ । कानुनी माध्यमबाट रकम पठाउँदा देश विकासमा समेत योगदान पुग्ने दूतावासले उल्लेख गरेको छ । त्यसरी बैंकिङ मार्फत पठाइएको रकम नेपालको कानुन अनुसार कुनै सम्पत्ति खरिद गर्न वा व्यवसाय गर्न आम्दानीको स्रोतको रुपमा देखाउन सकिने तर्फ पनि दूतावासले ध्यानाकर्षण गरेको छ ।

आफ्नो कमाईलाई कानुनी बाटोबाट स्वदेश पठाउनेहरुलाई देश विकासको मूल प्रवाहमा ल्याउन सरकारले विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरु समेत ल्याएको भन्दै दूतावासले हुण्डी, हवाला जस्ता माध्यमहरुलाई निरुत्साहित गर्न आग्रह पनि गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारमा गएकाहरुले मनि ट्रान्सफर वा बैंकिङ माध्यमबाट स्वदेश पठाउने कानुनी व्यवस्था भएपनि विना शुल्क तथा छिटो रकम प्राप्त गर्ने, कमिसन नलाग्ने जस्ता प्रलोभनमा परेर ठूलो मात्रामा रकम हुण्डी गर्ने गरिएको छ । गन्तव्य मुलुकमा नै कुनै व्यक्तिलाई आफूले रकम दिने र स्वदेशमा सो वरावरको रकम प्राप्त हुने कार्यलाई हुण्डी वा हवाला भनेर चिनिन्छ । यसो गर्दा मुलुकले विदेशी मुद्रा गुमाउँछ । यसको प्रत्यक्ष असर विदेशी मुद्राको आम्दानीमा पर्दछ । हाल नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थामा साउदीस्थित दूतावासले सो मुलुकमा कार्यरत नेपालीलाई हुण्डी नगर्न आग्रह गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: