वैदेशिक रोजगार पुरानै लयमा, फागुनमा गत बर्ष भन्दा झण्डै तीन गुणा बढी विदेशिए

वैदेशिक रोजगारमा जानेहरुको संख्या पुरानै अवस्थामा फर्केको छ । गत फागुनमा नेपालबाट विभिन्न मुलुकहरुमा ५३ हजार भन्दा बढी नेपाली गएका छन् । विगत दुई बर्षयता कोभिड-१९ का कारण वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ठूलो गिरावट आएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार गत फागुन महिनामा श्रम स्वीकृति लिएर ५३ हजार ४ सय ५७ जना नेपाली विदेशिएका छन् । त्यसमध्ये २६ हजार ४ सय २४ नयाँ हुन् भने अन्य पुन: श्रम स्वीकृति लिएर गएकाहरु तथा वैधानिकरण गरेकाहरु रहेका छन् । रोजगारीका लागि विदेशिएका नयाँ २६ हजार मध्ये ३ हजार २९ जना महिला रहेको विभागको तथ्याँक छ ।

गत बर्ष फागुन महिनामा केवल १९ हजार ८ सय ८ जना मात्र वैदेशिक रोजगारमा गएका थिए । कोभिड १९ का कारण विभिन्न वन्देजहरु रहेका कारण तथा गन्तव्य मुलुकमा पनि रोजगारीमा आएको संकुचनका कारण विदेश जानेहरुको संख्या उल्लेख्य घटेको थियो ।

यस बर्षको फागुनमा वैदेशिक रोजगारमा गएका मध्ये सवैभन्दा धेरै साउदी अरवमा गएको देखिएको छ । सो मुलुकमा एक महिनामा १५ हजार ६ सय ८५ जना रोजगारीका लागि गएका छन् । यसैगरी दोश्रोमा कतारमा रोजगारीका लागि जानेहरुको संख्या १५ हजार ६३ रहेको छ । पछिल्लो केहि बर्षयता नेपालीका लागि आकर्षक गन्तव्य मुलुक देखिंदै आएको संयुक्त अरव ईमिरेट्स (युएई) मा ९ हजार ४ सय ७८ जना गएका छन् ।

गत माघ महिनाको तथ्याँकले पनि नेपालबाट वैदेशिक रोजगारमा जानेहरुको संख्यामा उल्लेख्य बृद्दि भएको देखाएको छ । विभागको तथ्याँक अनुसार माघ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर ५४ हजार ४ सय ७० जना विदेशिएका छन् । यसरी जाने मध्ये ३१ हजार ६ सय ४ जना नयाँ रहेका छन् । रोजगारीका लागि विदेशिएका कुल श्रमशक्ति मध्ये २ हजार ७ य ५ जना महिला रहेका छन् ।

माघ महिनामा पनि नेपालीको प्रमुख तीन गन्तव्य मुलुकहरुमा साउदी अरव, कतार र युएई नै रहेको छ । सो महिनामा साउदी अरवमा १९ हजार ८ सय ३१ ज्ना, कतारमा १४ हजार ७ सय ५१ जना तथा युएईमा ११ हजार ३ सय ३ जना रोजगारीका लागि गएका हुन् ।

केहि बर्ष अगाडीसम्म नेपालीको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा भनें पछिल्लो समयमा नेपाली श्रमिक न्यून मात्रामा गइरहेका छन् । लामो समयसम्म बन्द हुनु र कोभिड-१९ को संक्रमण पश्चात पनि सो मुलुकले विदेशी श्रमिक लिन धेरै महिना देखि लगाएको बन्देजका कारण मलेसिया जाने नेपालीको संख्या न्यून भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: