भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न सहमति

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ ।

यूएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र यूएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री श्रेष्ठले यूएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै यूएई सरकारको प्रसंशा गरेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्ने बताइएको छ । भेटमा मन्त्री अवारले यूएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि यूएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । उनीहरुबीच यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारको भनाइ थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: