दक्ष जनशक्ति उत्पादनमा नेपाललाई युएईले सघाउने

नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संसधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो ।

बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुन:एकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णत: नि:शुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन पनि युएई सहमत भएको मन्त्रालयले जनाएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुन: श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो । रोजगारीको प्रलोभनमा परी ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल भएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।

युएई जाने नेपाली श्रमिकलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इञ्जीजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा उपसचिव डा. थानेश्वर भुसाल र श्रम सहचारी निर्मला थापा सहभागी थिए । युएईकातर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह सहभागी हुनुभएको बताइएको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: