घरेलु श्रमिक स्वदेश आएर पुन: रोजगारीमा फर्कन पाउने

सरकारले विभिन्न मुलुकमा घरेलु श्रमिकका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु श्रमिकलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

खाडीलगायत मुलुकमा नेपाली महिलालाई घरेलु श्रमिकका रूपमा जान प्रतिबन्धलगायका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले पुन: रोजगारीमा जान नपाउने डरका कारण बिदामा घर आउन सकेका थिएनन् । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी श्रममन्त्री कृष्णकुमार श्रेष्ठले अप्ठ्यारोमा परेका महिलालाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन् ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिकाअनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि प्रतिबन्ध लाग्नुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु श्रमिकका रूपमा काम गरिरहेका र पछि कानुन विपरित गएका महिलाहरू परिवार भेट्न नेपाल आउन नसकेको भन्दै उनीहरुको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो ।

प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु श्रमिक रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकाले आउन सकेका थिएनन् । पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी सर्त पूरा गरेर पुन: श्रम स्वीकृति दिने र सम्बन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरुको छुट्टै अभिलेख राख्ने व्यवस्था गरिएको छ । खाडीलगायत देशमा महिला श्रमिक पठाउन प्रतिबन्ध लगाएयता महिला अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् जसले गर्दा उनीहरूलाई जबरर्जस्ती श्रम र बेचबिखन जस्ता जोखिममा पारेको छ ।

प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुनेभन्दा थप जोखिममा परेको मन्त्री श्रेष्ठको भनाइ छ । अवैध रूपमा गएका महिलाको कुनै अभिलेख नहुनु, शोषण, बेचबिखन तथा ठूलो सङ्ख्यामा श्रम गन्तव्य मुलुकमा अलपत्र परेका छन् ।

विसं २०७३ चैत २० गते व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु श्रमिक पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सरकारले घरेलु श्रमिक पठाउन प्रतिबन्ध लगाएको थियो । महिला अधिकारकर्मीले घरेलु महिला कामदारलाई विदेश जानबाट रोक्न नहुने भन्दै तत्काल प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए । प्रतिबन्धसँगै अवैध बाटो हुँदै खाडी जाने श्रमिक झनै जोखिममा पर्ने गरेका छन् ।

कानुन विपरित बाटोको प्रयोग गरी विदेशिएका श्रमिक कुनै समस्यामा परे उद्धार तथा स्वदेश फिर्ताका समस्या हुने गरेको छ । यसको समाधानका लागि सरोकारवालासँग फलफल गरी छिट्टै निर्णयमा पुगिने मन्त्रालयको भनाइ छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय