नेपाली नागरिकलाई ठग्ने र अलपत्र पार्नेहरुलाई कारवाही हुन्छ: मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुन: वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाई गर्ने कक्ष स्थापना गरिएको छ । यस अगाडी वैदेशिक रोजगार बोर्डको पहलमा मन्त्रालयमा राखिएको कल सेण्टर प्रभावकारी नभएपछि बोर्डले आफ्नै भवनमा सो कल सेण्टर सञ्चालन गर्दै आएको छ । तर बोर्डमा रहेको कल सेण्टरले अपेक्षा अनुसार काम नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयमै पुन: कल सेण्टर स्थापना गरेका हुन् ।

कल सेण्टर तथा वैदेशिक रोजगारी सम्वन्धि गुनासो सुनुवाई कक्षको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको बताए ।

पछिल्लो समयमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपुर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।

अव कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सो कक्षमा आएका समस्या तथा गुनासोहरुलाई प्राथमिकिकरण गरी समाधान गरिने तथा सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने मन्त्रीको सचिवालयले जानकारी दिएको छ । कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन् त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताएका छन् ।

वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनवमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ । यससम्वन्धि समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोवाइल नम्वर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर ं९७७ १५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: