रोजगारीका लागि साउदी अरव जाने योजनामा रहेकहरुलाई दूतावासको यस्ता छन् सुझावहरु

साउदी अरव नेपाली श्रमिकको एउटा मुख्य गन्तव्य मुलुक हो । सो मुलुकमा रोजगारीका लागि हरेक बर्ष ठूलो संख्यामा नेपाली जाने गरेका छन् । साउदी अरवमा रोजगारीका लागि जाने योजनामा रहेकाहरुका लागि रियाद स्थित नेपाली दूतावासले यी विषयहरुमा सजग रहन, मनन गर्न आग्रह गरेको छ ।

पूर्व तयारी चरण

  • कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक कति छ थाहा पाउनुहोस् । अदक्ष कामदारका लागि नेपाल सरकारले साउदी रियाल एक हजार र खाना वापत ३०० तोकेको छ । अन्य पदहरुका पारिश्रमिकका बारेमा यकिन हुनुहोस् ।
  • त्यो कामका लागि आवश्यक सीप छ छैन विचार गर्नुहोस् । सीप नभए सिक्नुहोस् ।
  • सीप सिकेको भनि प्रमाणपत्र मात्र नलिनुहोस्, वास्तविक रूपमा तालिम लिएर नै सीप सिक्नुहोस्, प्रमाणपत्र लिनुहोस् ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) बाट सीप परीक्षण प्रमाणपत्र समेत लिनुहोस् ।
  • सीप परीक्षण नभएको सीप प्रमाणपत्रको मान्यता हुदैन । त्यस्तो प्रमाणपत्रले तोकिएको सुविधा पनि नपाइने भएकाले यकिन गर्नुहोस् ।
  • सीप भएर प्रमाणपत्र नभएपनि समस्या हुनसक्छ । कुनै कुनै पेशा सीपयुक्त हुने र त्यसको सीप परीक्षण प्रमाणपत्र वेगर अकामा पनि नवन्ने हुनसक्दछ ।
  • साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस् ।
  • फाइदा नहुने भए विचौलिया र मेनपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो चाख र सीप अनुसारको केही पेशा, व्यवसाय गर्नुहोस् । नेपालमा नै नेपालकै लागि परिवारकासाथ बसेर आनन्दसंग काम गर्न सकिन्छ ।यो सकरात्मक पक्षलाई पटक पटक मनन गर्नुहोस् ।
  • नेपाल मै बसेर केही गर्छु भन्ने निर्णय गर्नुभयो भने यो नै उत्तम निर्णय हुनेछ ।
  • अब मानौं आउने नै निर्णय गर्नुभयो । यस अवस्थामा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भिषामा मात्र साउदी आउनुहोस् । मेनपावर कम्पनी कस्तो प्रकारको हो विभिन्न स्रोतबाट यकिन गर्नुहोस् । विचौलियाहरूको विश्वास नगर्नुहोस् । कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिनुहोस् ।
  • वर्किङ भिषा बाहेक अन्य भिषा (भिजिट भिषा, हज/उमरा भिषा, फ्रि वर्क/आजाद भिषा) बाट काम गर्ने भनि नआउनुहोस् । भिजिट भीसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन् । सजग हुनुहोस् । विशेष गरी महिला कामदारलाई कुवेत, यूएइ र भारतको बाटो हुदै भिजिट भीसामा साउदी अरब ल्याउने गरेको पाइएको छ । यसरी आउने महिलाहरु वर्षौसम्म बिना पारिश्रमिक रोजगारदाताको चरम शोषणमा पर्ने गरेका प्रशस्त घटनाहरु छन् । तसर्थ अनावश्यक प्रलोभनमा नपर्नुहुन वैदेशिक रोजगारीमा जाने सोचका महिलाहरुलाई विशेष अनुरोध छ । गैरकानूनी रूपमा सक्रिय एजेन्टहरु वैदेशिक रोजगारीका नाममा महिलाको वेचविखनमा लागिपरेका हुनसक्छन् ।
  • आफ्नै चिनजानका मानिस एजेन्ट भएर तपाइलाई गलत सूचना दिएर ठगी गर्न सक्छन । पहिला साउदीमा काम गर्न आइसकेका वा कम्पनीमा काम गरिरहेका साथीभाइ संग कुरा बुझेर मात्र आउनुहोस् । अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउनुहोस् ।
  • संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउनुहोस् ।
  • साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई नबुझाउनुहोस् ।
  • दश देखि बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाइ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
  • नेपालमा नै तपाइँ ठगिमा परेमा विदेशमा विदेशीले तपाईलाई ठग्दैन भन्नै सकिदैन । जसलाई जति रकम बुझाउनुहुन्छ त्यसको भर्पाइ लिनुहोस् । भरपाई वेगर रकम वुझाउनु गलत हो । गलतको परिणाम गलत नै हुन्छ ।
  • साउदी अरबमा कामदारको रूपमा आउदा वढी शारिरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । तपाईको स्वास्थ्य कमजोर छ वा कुनै विरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनु भएको छ भने नआउनुहोस् ।
  • घरेलु तथा सामाजिक हिंसाबाट मुक्ति, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (Depression) आदि समस्या भइ नेपालका सुधार गृहमा राखि सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिलाई साउदी अरबमा पठायो भने सुधार हुन्छ भन्ने भ्रममा परिवारका सदस्यले साउदी अरव नपठाउनुहोस् आफू नआउनुहोस् । त्यस्ता कामदार यहां आएर सुधार हुने नभइ झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएका छन् । यसमा गम्भीर हुनुहोस् ।
  • विशेषगरी कतिपय महिला कामदारहरुलाई विभिन्न प्रलोभनमा पारेर उत्पत्तिको मुलुक, बाटोमा पर्ने मुलुक तथा गन्तव्य मुलुकमा समेत चरम शोषण हुने गरेकाले महिलाहरुले वैदेशिक रोजगारीमा आउनुपूर्व गम्भीर विचार गर्नुहोस् ।
  • यहांको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा विचौलिया एव मेनपावर कम्पनीहरूले गलत जानकारी दिइ पठाउने गरेको पाइएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भएपनि काम भने विचौलिया वा मेनपावरले भने अनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् ।
  • पारिश्रमिकका विषयमा स्पष्ट हुनुहोस् । नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता नगर्नुहोस् । गत वर्ष नेपाल सरकारले साउदी अरवमा आउने नेपाली कामदारका विभिन्न पदहरूकालागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्नुहोस् । ओभरटाइम वा अन्य सुविधा सम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिन्छ । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नआउनुहोस् ।
  • सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जादैछु भन्नेमा प्रष्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनीकाबारेमा वेभसाइट एवं अन्य श्रोतबाट बुझ्नुहोस् । Recruitment Company, Manpower Solution जस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहु तहसम्मको सप्लाई हुने भएकोले विचार पुर्‍याएर मात्र आउनुहोस् । अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुनेगरेका समस्या आइरहेका छन् ।
  • सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ ।

तयारी चरणः

  1. माथिका सबै बुंदाहरू पढिसकेपछि साउदी अरब आउने निश्चित गर्नुभयो भने संभव भएसम्म एकपल्ट सम्बन्धित कम्पनीको विषयमा वेवसाइट हेरेर वा ति कम्पनीमा काम गर्ने नेपालीसंग सम्पर्क गरेर सबै कुरा बुझ्नुहोस् । उक्त कम्पनीमा काम गर्ने कामदारको सम्पर्क नं. तपाइलाई पठाउने भनिएको मेनपावरबाट उपलब्ध हुन सक्छ । रोजगारदाताको फोन नं लिएर पनि कुरा गर्न सकिन्छ ।
  2. पासपोर्ट, भिषा, करारपत्र, श्रम स्वीकृति, रकम वुझाएको भर्पाई लगायतका कागजातहरु ठिक दुरूस्त भए नभएको यकिन गर्नुहोस् । सवारी चालक काममा आउनेले यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्रको अभिलेख प्रमाण सहित आउनुहोस् । नक्कली लाइसेन्स लिएर नआउनुहोस् ।
  3. कागजात ठिक भएपछि एक सेट छाँयाप्रति घरमा छोडेर आउनुहोस् ।
  4. रोजगारदाताले दिने सुविधाः तलब, आवास, खाना, ओभरटाइम, कार्यघण्टा, कार्यदिन सहितको श्रम संझौता रोजगारदाताको सही भएको छ छैन विचार पुर्‍याउनुहोस् । दोहोरो श्रम संझौता गरेर नआउनुहोस् । जव तपाई २ वटा संझौता बोकेर आउनुहुन्छ समस्या त्यही बाट शुरू भयो भन्ने बुझ्नुहोस् ।
  5. एयरपोर्टसम्म लिन आउने व्यक्तिको नाम र सम्पर्क नम्वर लिनुहोस् । कफिल (Sponsor) वा मुदिर (Manager) को सम्पर्क नम्वर पनि लिइराख्नुहोस् । नेपाली राजदूतावासको वेभसाइट तथा फेसबुकका सूचनाहरु हेर्नुहोस् तथा टेलिफोन नं पनि लिनुहोस् ।
  6. अरेविक भाषाको सामान्य शव्दावली बुझ्ने र सोध्न सक्ने भएर आउनु राम्रो हो । २ दिनको अभिमुखिकरण तालिम लिएर आउनु अनिवार्य छ । तालीम नलिइ प्रमाणपत्र मात्र लिएर नआउनु होस् ।
  7. साउदी अरबको कुन ठाँउमा जानुपर्ने, जहाजवाट कहाँ पुगिने, कति समय लाग्ने, यकिन गरेर सोही अनुसार खर्च र अन्य आवश्यक व्यवस्था गरेर आउनुहोस् ।
  8. नेपाल सरकारले घरेलु कामदार (हाउसमेड, निजी ड्राइभर, वगैचे तथा भान्से आदि) लाई साउदी अरब आउन श्रम स्वीकृति प्रदान गर्दैन । यस्ता कामदारको हकमा स्थानीय श्रम कानून समेत लागु हुँदैन । यसर्थ, कसैको लोभलालच वा आश्वासनमा परेर गलत तरीका वा बाटोबाट यस्ता काममा नआउनुहोस् ।
  9. अन्य मुलुक भएर साउदी अरब नआउनुहोस् । विविध कारणले आउनुपरेमा सम्बन्धित देशमा भएको नेपालको नियोगको अनुमति लिएर मात्र आउनुहोस् । यसरी आउनेले पनि आफ्नो सुरक्षा र मर्यादाको विषयमा गम्भिर सोचविचार गरेर मात्र आउनुहोस् ।

यात्राको चरणः

  1. आवश्यक कागजातः पासपोर्ट, भिषा, करारपत्र, आवश्यक खर्च, लुगाफाटा लिएर आउनुहोस् । साउदीमा गैर कानूनी हुने पदार्थहरूः मदिराजन्य पदार्थ, नसालु पदार्थ, गुटखा, मर्चा तथा चिकित्सकको प्रेस्क्रिप्शन भन्दा बाहिरका औषधी आदि नल्याउनुहोस् ।
  2. विमानस्थलको श्रम डेस्कमा सोधेको विषयमा सही जानकारी दिनुहोस् । श्रम डेस्कमा सोध्दा पैसा १० हजार दिएको भन्ने तर विदेशमा पुगेपछि बढी दिएको हो नभन्नुहोस् । जे सत्य हो, त्यही सबै ठाँउमा भन्नुहोस् । ठगिएको शंका भएमा जिल्ला प्रशासन कार्यालय वा वैदेशिक रोजगार विभाग वा एयरपोर्टको श्रम डेस्क वा प्रहरीमा उजुरी दिनुहोस् ।
  3. स्वदेशकै विमानस्थलबाट आउनुहोस् । स्वीकृति वेगर विदेशी मार्ग वा विमानस्थल प्रयोग गरेर आउदै हुनुहुन्छ भने तपाइ दुःखको भुमरीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
  4. यात्राको चरणमा विमानस्थल र प्रवेषाज्ञाका प्रकृयाको वारेमा पूर्व जानकारी लिनुहोस ।
  5. साउदी अरबको विमानस्थलको अध्यागमन क्लियर भएपछि आफूलाई लिन आउने मानिस सही हो होइन (नाम वा फोन नं. बाट) यकिन गर्नुहोस् । पासपोर्ट जसलाई पायो उसैलाई नदिनुहोस् । अर्कै रोजगारदाताले लैजान सक्ने भएकोले चनाखो हुनुहोस् ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: