
संयुक्त अरव ईमिरेट्स (युएंई) मा कुनै अफवाह फैलाउने भ्रामक समाचार शेयर गरेमा पनि कडा दण्ड सजाय हुने त्यहाँको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । आइतवार युएईको राष्ट्रिय समाचार एजेन्सी वामले कुनै व्यक्तिले भ्रामक समाचार प्रकाशित गरेमा दुई वर्षसम्मको जेल सजाय र दुई लाख दिराम (झण्डै ६५ लाख रुपैंया) सम्म जरिवाना हुने जनाएको हो ।
स्थानीय सञ्चार माध्मयहरुका अनुसार महामारी, कुनै प्रकोप वा संकटको समयमा भ्रामक समाचार सम्प्रेशण गरिएमा कडा कारवाही हुने वामले जनाएको हो । कुनै पनि व्यक्तिले त्यस्तो भ्रामक समाचार ईन्टरनेटमा प्रकाशित गरेमा, त्यसलाई शेयर गरेमा कडा कारवाही हुने भएको हो ।
युएईमा कोभिड १९ विरुद्दको खोपका विषयमा गलत सुचना सम्प्रेषण गर्ने वा कोभिड १९ का बारेमा गलत समाचार फैलाउने काम भएको भन्दै केहि समय अगाडी त्यहाँको सरकारी निकायले त्यस्तो काम गर्नेहरुलाई कडा कारवाही हुने चेतावनी दिएको थियो । त्यसैको निरन्तरताका रुपमा सरकारी समाचार एजेन्सीले पुन: सजग गराएको हो ।