श्रमिकको पासपोर्ट कव्जा गर्नेलाई ८ लाख जरिवाना, भिसा किनबेच गरे ३ बर्ष जेल

कतारले आवासिय अनुमति बनाउन तथा नविकरण गर्न श्रमिकसँग लिएको राहदानी (पासपोर्ट) फिर्ता नगर्ने रोजगारदातालाई २५ हजार रियाल (झण्डै ८ लाख) जरिवाना गर्ने चेतावनी दिएको छ । कतारको गृह प्रशासन सम्वन्धि काम गर्ने आन्तरिक मन्त्रालयले आवासिय अनुमति पत्र बनाउने वा नविकरण गर्ने प्रयोजन सकिएपछि श्रमिकको राहदानी श्रमिकलाई नै फिर्ता दिन आदेश दिएको हो ।

द पेनन्सुल कतारका अनुसार कतारको आन्तरिक मन्त्रालयले सोमवार आयोजना गरेको वेबेनारमा यसका बारेमा जानकारी दिइएको हो । सो वेबेनारमा विभिन्न मुलुकका गरी २ सय ८० जना भन्दा बढी सहभागि रहेको समाचारमा जनाइएको छ । सो वेबेनार कतारले भिसाको म्याद सकिएर बसाई अवैधानिक भएकाहरुलाई आफ्नो कतार बसाईलाई कानुनी बनाउन दिएको अवशरका बारेमा छलफल गर्न र विभिन्न मुलुकका समुदायका अगुवाहरुलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको थियो ।

कतारले आगामी डिसेम्वर ३१ भित्रमा आफ्नो बसाईलाई वैधानिक बनाउन दिएको समयावधिभित्र कतारमा अवैधानिक रुपमा बस्दै आएका मध्ये आधाले आफ्नो समस्या हल गर्ने अपेक्षा गरेको छ । यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले आफ्नो बसाईलाई वैधानिक बनाउन आवेदन दिएको जनाइएको छ ।

कार्यक्रममा कतारी अधिकारीहरुले कसैले गैरकानुनी रुपमा भिसाको किनबेच गरेमा कडा कारवाही हुने चेतावनी दिएका थिए । उनीहरुले त्यस्तो गतिविधिमा संलग्नहरुलाई ३ बर्षसम्म जेल सजाय तथा ५० हजारसम्म कतारी रियाल जरिवाना हुने जनाएक थिए । यसैगरी पुन: सोही गल्ती दोहोरिएमा १ लाख रियाल जरिवाना हुने जनाइएको छ ।

कतारी अधिकारीहरुले समयमै आवासिय अनुमति नविकरण नगर्ने रोजगारदाताहरुलाई पनि कारवाही हुने बताएका थिए । उनीहरुले आफ्ना श्रमिकको आवासिय अनुमति नविकरण गर्ने समयावधि सकिएको ९० दिनभित्रमा त्यसको नविकरण नगराउने रोजगारदातालाई १० हजार रियालसम्म जरिवाना हुने बताएको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय