विदेश जाने श्रमिकलाई नठग्न व्यवसायीलाई श्रम मन्त्री श्रेष्ठको अनुरोध, हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्दता

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसन कुमार श्रेष्ठले श्रमिकलाई ठग्नेगरी काम नगर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेका छन् । उनले आफू व्यवसायीहरुसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको भन्दै तर श्रमिक ठग्न नपाइने पूर्व शर्त रहेको बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको नेपाल कतार संयुक्त कार्यसमिति वैठकको तयारीका सम्वन्धमा सरोकारवालाहरुसँगको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले अस्वस्थ व्यवसायिक प्रतिस्पर्धाका कारण श्रमिक मारमा पर्ने अवस्था अन्त्य हुनु पर्ने बताए । वैदेशिक रोजगार व्यवसायीका विभिन्न संस्थाका प्रतिनिधिहरु ठूलै संख्यामा सहभागि कार्यक्रममा मन्त्री श्रेष्ठले भने, तपाईहरु कसम खानुस् श्रमिकको अहित गर्दिन भनेर म व्यवसायीको संरक्षण गर्न प्रतिवद्द छु । उनले वैदेशिक रोजगार व्यवसायी संस्थाहरु मर्ज गरेर अगाडी बढ्न सुझाव दिंदै मन्त्रालयले नयाँ योजना ल्याउने जानकारी पनि दिए ।

मन्त्री श्रेष्ठले सम्झौताका नाममा सम्झौता गर्ने पक्षमा आफू नरहेको भन्दै लागु हुने सम्झौता मात्र गरिने पनि बताए । यसैगरी कतिपय वैदेशिक रोजगार व्यवसायीले भिजिट भिषाको कारोवार गरिरहेको तर्फ ईंगित गर्दै मन्त्री श्रेष्ठले भने, तपाईहरुलाई सरकारले भिजिट भिषामा मान्छे पठाउन लाइसेन्स दिएको होइन, सरकारले यसका विरुद्द कडा कारवाही गर्दछ ।

उनले कतार भिषा सेण्टरले सिण्डिकेट गरेको र श्रमिकसँग चर्को शुल्क असुली गरेको गुनासो आफूले सुनेको भन्दै त्यसका बारेमा आफूले फाइल अध्ययन गरिरहेको बताए । उनले कतार सरकारसँग दुई तीनवटा प्रदेशमा तालिम केन्द्र सञ्चालनका लागि नेपालका तर्फबाट यस अगाडी नै प्रस्ताव गरिएको र आगामी बैठकमा यस बारेमा कुनै निर्णय हुनसक्ने अपेक्षा प्रकट गरे ।

छलफलमा सहभागि व्यवसायी, नागरिक समाजका प्रतिनिधिहरुले कतारसँगको आगामी संयुक्त बैठकमा नेपालका तर्फबाट उठाउनु पर्ने विषयहरुको सुझाव दिएका थिए । सो क्रममा कतारमा नेपालीको मृत्युको कारण खोजिनु पर्ने, मृतकको पोष्ट मार्टम गर्नुपर्ने, न्यायमा पहुँच वृद्दि गर्नुपर्ने, कतार भिषा सेण्टरले श्रमिकसँग चर्को रकम असुलीरहेका कारण त्यसलाई रोक्नु पर्ने लगायतका सुझाव दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय