साउदी अरबमा रोजगारदाता परिवर्तन अव सहज हुने भएको छ । विदेशी श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिने गरी नयाँ कानुन लागु भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
साउदी गजेटका अनुसार अव देखि विदेशी श्रमिकले एउटा रोजगारदाताबाट अर्को रोजगारदातासँग काम गर्ने सहज रुपमा अनुमति प्राप्त गर्नेछन् । श्रम कानुनमा गरिएको परिवर्तनलाई मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले पारीत गरेको साउदी गजेटले लेखेको छ । तर रोजगारदाता परिवर्तनका लागि सुरुमा रोजगारीका लागि निम्त्याउने रोजगारदाताको अनुमति हुनुपर्ने र केहि अन्य प्रावधान पुरा भएको हुनुपर्नेछ । साउदी गजेटका अनुसार रोजगारदाता परिवर्तन गर्न सुरुमा रोजगारी प्रदान गर्ने रोजगारदातासँग एक बर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई हटाइएको छ ।
यसैगरी रोजगार करार अवधि सकिएका विदेशी श्रमिकले रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने व्यवस्था पनि कानुन संशोधनमा समेटिएको छ । यसैगरी कानुनले तोकेका प्रकृयाहरु पुरा भएमा रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने सुविधा पनि विदेशी श्रमिकलाई दिइएको समाचारमा जनाइएको छ ।