
सात बर्ष अगाडी जतिबेला हामीले देश परदेशको यात्रा थाल्यौं, त्यतिबेला रोजगार केन्द्रीत विषय नेपाली सञ्चार माध्यमको खासै प्राथमिकताको विषय थिएन । एकाध सञ्चार माध्यमले वैदेशिक रोजगारको विषयलाई प्राथमिकता दिएर सम्वाददाताहरु राख्ने गरेको भएपनि रोजगार केन्द्रीत सामग्रीको अभाव नै थियो । त्यहि कुरालाई मनन गर्दै हामीले देश परदेशको यात्रा थाल्यौं ।
‘१० गते १० बजे; भन्ने नारा अन्तर्गत २०७१ असोज १० गते विहान १० बजे संसारका विभिन्न भागमा कार्यरत नेपाली पत्रकार, सामाजिक अभियानकर्मीहरुले सामाजिक सञ्जा मार्फत देश परदेशको औपचारिक शुभारम्भ गर्नुभएको थियो । सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारमा केन्द्रीत अनलाइन सञ्चार माध्यम देशपरदेशको यात्रा निरन्तर जारी छ ।
हामी हिजो पनि स्पष्ट थियौ र आज पनि, श्रमिक पक्षिय पत्रकारिता हाम्रो मार्गदर्शन हो । त्यसैले यसबीचमा जे जति सामग्रीहरु देशपरदेशमा प्रकाशित भए ति श्रमिक पक्षिय थिए भन्ने हाम्रो विश्वास छ । श्रमिक माथि हुने गरेका शोषणका विषयमा कलम चलाउँदा यसबीचमा हामीले जे जति अप्ठ्यारो भोग्यौं त्यसलाई स्वीकार्दै हामी आफ्नै मान्यता अनुरुप अगाडी बढिरहने छौं ।
अर्को एक बर्षको यात्रा सुरु गरिरहँदा यसबीचमा हामीले के गर्न सक्यौ त ? वैदेशिक रोजगारको नाममा हुने ठगि र शोषणमा परेकाहरुलाई न्याय दिलाउने ठाउँसम्म पुर्याउने र उनीहरुलाई न्याय दिलाउन हामीले भूमिका खेल्यौं । यो कामलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।
यसैगरी वैदेशिक रोजगारमा गएर परिवारसँग सम्पर्क विहिन भएकाहरुको खोजिकथाले अर्को एउटा महत्वपूर्ण उपलव्धी हासिल भएको छ । हामीले तयार पारेका ३६ वटा भिडियो कथा र झण्डै ३० वटा अन्य सामग्री प्रकाशित भएपछि १६ जना व्यक्ति परिवारको सम्पर्कमा आएका छन् जसलाई हामीले हाम्रो सानो प्रयासको ठूलो उपलव्धी मानेका छौं ।
यसैगरी सीपको महत्वका बारेमा निरन्तर सामग्री तयार पार्नु हाम्रो अर्को महत्वपूर्ण कार्य हो । सीप सिकेर स्वदेशमा नै मनग्गे आम्दानी गरेकाहरुको कथा प्रस्तुत गर्दै अरुलाई त्यस्तै उपलव्धीमूलक कार्यका लागि प्रोत्साहित गर्ने देखि वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि पनि सीपको महत्वका सामग्री हामीले निरन्तर प्रकाशित गर्दै आएका छौं । सीपका कारण प्राप्त आर्थिक उपलव्धीका विषयमा हामीले निर्माण गरेका केहि छोटा भिडियो सामग्रीहरु अत्यधिक रुचाइएका छन् जसलाई हामीले आफ्नो उपलव्धी मानेका छौं । वैदेशिक रोजगारको क्रममा रहेकाहरुका लागि जानकारीमूलक सामग्रीहरु हामीले निरन्तर प्रकाशित गर्दै आएका छौं ।
यो सात बर्षको यात्रामा तपाईले गर्नुभएको सहयोग प्रति हामी आभारी छौं । तपाईको साथ र सहयोग नै हाम्रा लागि प्रेरणा हो र हामी त्यहि प्रेरणाको बलमा निरन्तर अगाडी बढिरहेका छौं । तपाईको माया, सद्भाव र प्रेरणाका लागि हार्दिक धन्यवाद ।
देशपरदेश परिवार