रविना थापाले गरिन् एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए), आइसिसीको आसन्न निर्वाचनमा अध्यक्षका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन् । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारीको घोषणा गरेका छन् ।

थापाले आफ्नो उम्मेद्धवारीको घोषणा गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको बताइन । “एनआरएनएमा रहेको अर्को महत्वपूर्ण एजेन्डा भनेको नागरिकता हो” उनले भनिन् “अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएको छु ।”

यसैगरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन । “लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन्, उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो” उनले पत्रकार सम्मेलनमा भनिन् । दोहोरो करका सम्बन्धमा पनि गैरआवासिय नेपालीले करमा छुट पाउनु पर्छ भन्ने उनको चुनावी नारा रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताइन । ‘संघमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे’, थापाले भनिन्, ‘अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछु । उनले पहिलो पटक संघको अध्यक्षमा महिलालाई निर्वाचित गराउन अपिल समेत गरिन् ।

उनी सहित उनको समूहमा रहेका अधिकारी र गुरुङले वैदेशिक रोजगारीमा जानेका लागि उनीहरूको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने बताए । विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कृति, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापा समूहको भनाई छ ।

थोरै आम्दानी गर्नेलाई पनि लगानीको अवसर
नेपालमा लगानी गर्ने विषय सबै गैरआवासिय नेपाली साझा नारा हो । थापा समूहले भने विदेशका साना साना लगानीलाई ल्याएर समूहमा लगानी गर्ने योजना रहेको बताएको छ । “थोरै थोरै पैसा सङ्कलन गरेर यहाँ ठुलो क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहन्छ” अध्यक्षकी उम्मेदवार थापाले भनिन “जसरी भए पनि हामीले साना साना व्यवसायलाई सहयोग गर्ने भन्ने योजना सहित पुँजी सङ्कलन गर्ने योजना रहेको छ ।”

उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सीपयुक्त बनाउन सकिने उनको भनाई छ । विदेशमा नेपालीले सिकेको ज्ञान र सीपलाई एनआरएनएले नेपालसँग जोडन समेत आफूले धेरै काम गरेको बताइन । थापाको उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए एनसीसी सदस्यहरू जापानबाट ओम गुरुङ, अमेरिकाबाट प्रेम श्रेष्ठ र कृष्ण जीवी पन्थले समर्थन गर्ने घोषणा गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय