गैरआवासीय नेपालीको नेतृत्व चयन : सबैले भोट हाल्न पाउनु पर्छ

कोरोना महामारीका कारण विश्व विगत दुई वर्षदेखि आक्रान्त छ । लाखौ मानिसको मृत्यु भएको छ भने करोडौ मानिसलाई कोरोना काल बन्ने चिन्ता व्याप्त छ ।

साना बालबालिकादेखि बृद्धबृद्धा समेत कोरोना संक्रमित भएका छन् । कोरोना त्रासका कारण भौतिक उपस्थितिमा हुने धेरै कार्यक्रम भर्चुअल रुपमा सञ्चालन भइरहेका छन् । हरेक दुई दुई वर्षमा हुने गैरआवासीय नेपाली संघको नेतृत्व चयन पनि यो पटक डिजिटल माध्यम (इमेल) मार्फत हुँदैछ ।

तस्बिर सहितको इमेलका आधारमा भोटिङ गर्न पाउने व्यवस्था यो पटक गैरआवासीय नेपाली संघले मिलाएको छ । संघमा अहिले १ लाख ५ हजार सदस्य छन् । यी सबैले संघको नेतृत्व चयनका लागि मतदान गर्न भने पाउँदैनन् ।

डेलिगेट्स(प्रतिनिधि) चयनकै विषयमा विवाद भएको छ । विश्वका ८५ देशमा रहेका नेपालीको चुनावमा नेपालको परराष्ट्र मन्त्रालयले पहिलो पटक चासो दिएको छ । प्रतिनिधि छनौटको बिषयमा संघलाई मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि छनौट गर्ने परम्पराकै कारण गैरआवासीय नेपाली संघको चुनावमा विवाद हुने गरेको बताउँछिन संघकी वर्तमान कार्यसमितिकी उपाध्यक्ष रबिना थापा । संघमा सुरुदेखि नै सदस्य सबैले नेतृत्वमा दावी गर्ने र मतदान गर्न पाउने अधिकारका लागि आवाज उठाउँदै आएको उनको भनाई छ । ‘यो पटक सबैले मतदान गर्ने व्यवस्था गर्ने उपयुक्त समय हो’, थापाले भनिन्,‘आफु बसेकै ठाउँबाट आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने अवसरबाट बञ्चित गराउनु मानवअधिकार विपरितको काम हुन्छ ।’

संघको नवौं महाधिवेशनसम्म जस्तो प्रतिनिधि चुनिएर नेपाल आउने र नेतृत्व चयन गर्नुपर्ने अबस्था यो पटक नरहेकाले संघका सबै सदस्यले मतदान गर्न पाउनु पर्ने आवाज उठाइरहेको उनले बताइन् ।

‘प्रतिनिधि छनौट गर्दा धेरै विकृति देखा परेका छन्,’ उनले भनिन्,’भविष्यमा त्यस्ता विकृति रोक्न पनि यो पटक सबै सदस्यले भोट दिन पाउने व्यवस्था गर्नुपर्छ ।’

गैरआवासी नेपालीले मतदान गर्न पाउनु पर्ने अधिकार माग गरिरहेका छन् । विदेशमा बस्ने नेपाली नागरिकलाई दोहोरो नागरिकता दिने व्यवस्था गरिएको नागरिकता विधेयक पारित हुने क्रममा छ । संसदको राज्य व्यवस्था समितिबाट प्रतिनिधि सभामा पुगेको विधेयक पारित भएपछि राजनीतिक बाहेकका अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता पाउने व्यवस्था हुँदैछ ।

नेपालको सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट बञ्चित नगर्न सरकारमा नाममा आदेश नै दिइसकेको छ भलै यो व्यवस्था कार्यान्वयनमा भने आइसकेको छैन ।

‘विदेशमा बसोबास गरेका हामी नेपाली स्वदेशमा हुने चुनावमा मतदान गर्न पाउनु पर्ने भनिरहेका छौं’, थापाले भनिन्,‘विदेशमा रहेका नेपालीको संस्थामा चाहि कसैले पाउने कसैले भोट दिन नपाउने व्यवस्था न्यायोचित हुन्छ त ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय