युएईले खोपको पूर्ण मात्रा लगाएकालाई भिजिट भिसा दिने

संयुक्त अरब इमिरेट्स (युएई) ले कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि सोमबारदेखि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।

दुबईले गत वर्ष छ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुकहरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य संकटले एक वर्ष ढिलो गरी आगामी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो ।

गत हप्तान्तमा २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमित दरमा महिनौ पछि एक हजारभन्दा कम सङ्क्रमित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै यूएईले व्यापारिक तथा पर्यटकीय गतिविधिमार्फत् महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रतिबन्धात्मक उपायहरूलाई क्रमश: अन्त्य गर्दै जाने निश्कर्षमा पुगेको यहाँको समाचार संस्था वाम (डब्लुएएम) ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।

योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा अनुमोदित एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक कोभिड–१९ विरूद्धका खोपहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।

यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएकालगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि पर्यटक भिसामा आउने यात्रुहरूले विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ । कोभिड महामारीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएको भएपनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी कडा नियमहरू लागू गरिरहेको छ ।

युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने दुई हजार ३६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: