कतारमा आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन नहुँदा पीडित परिवारहरू निराश: एम्नेस्टी इन्टरनेशनल

अकालमा हुने मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुदै पनि गएको दशकमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू ‘प्राकृतिक कारण’ वा अस्पष्ट रूपमा परिभाषित हृदयाघातको कारणले भएको जनाउँदै नियमित रूपमा कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ भन्ने विषयलाई एम्नेस्टीको नयाँ प्रतिवेदन इन द प्राइम अफ दियर लाइभ्सले प्रस्तुत गरेको छ।

एम्नेष्टि ईन्टरनेशनले जारी गरेको विज्ञप्तीमा विशेषगरी अत्यधिक र शारीरिक रूपमा निकै धेरै श्रम गर्नुपर्ने कार्य समयसँगै कतारको चरम तापक्रमका कारण श्रमिकहरूमाथि पर्न जाने जोखिमहरूका बारेमा उल्लेख गरेको छ । हालै कतारले श्रमिकहरूका लागि केही नयाँ सुरक्षाहरू शुरुवात गरेको थियो तर मुख्य जोखिमहरू अझै विद्यमान रहेको र अधिकारीहरूले गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धान गर्न खासै प्रयास नगरेको एम्नेष्टिको भनाई छ । प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श र हजारौंको मृत्युसम्बन्धी सरकारी तथ्याङ्कहरूको पुनरावलोकन गर्दै एम्नेस्टीले १८ वटा मृत्यु प्रमाणपत्रहरूको विश्लेषण गर्नुका साथै ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारहरूसँग अन्तर्वार्ता गरेको जनाइएको छ ।

अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्ने एम्नेष्टिको भनाई छ । आप्रवासी श्रमिकहरूको मृत्युको मूख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्त्वपूर्ण सङ्केतहरूलाई बेवास्ता गरिरहेका छन् जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ विज्ञप्तीमा भनिएको छ। यो बाँच्न पाउने अधिकारको उल्लङ्घन भएको भन्दै विज्ञप्तीमा उनीहरूले पीडित परिवारहरूको कानूनीउपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेको र तिनीहरूलाई अनुत्तरित प्रश्नहरूसहितको पीडादायी अवस्थामा छोडेको एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन्।

“आप्रवासी श्रमिकहरूको मृत्युको पूर्ण छानबिन गर्न हामी कतारी अधिकारीहरूसँग आग्रह गर्दैछौं। यदि श्रमिकहरू अत्यधिक गर्मी जस्ता खतरनाक अवस्थाको सामना गर्दै आएका छन् र मृत्युको अन्य कुनै कारण स्थापित गर्न सकिँदैन भने कतारले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपूर्ति दिनु पर्दछ र अन्य श्रमिकको सुरक्षालाई सुदृढ पार्न तत्काल कदम चाल्नुपर्छ। आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन, कानूनी उपचार र रोकथाम गर्न नसक्नु बाँच्न पाउने अधिकारलाई सुरक्षित र सुनिश्चित राख्ने कतारको दायित्वको उल्लंघन हो” विज्ञप्तीमा भनिएको छ ।

महामारी विशेषज्ञहरूको अनुसार राम्रो स्रोत भएको स्वास्थ्य प्रणालीमा १ प्रतिशतबाहेक सबै मृत्युको घटनाहरूमा खास कारण पत्ता लगाउन सम्भव हुनुपर्छ तर श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर लगभग ७० प्रतिशत हुन सक्ने पाइएको छ।

कारण नखुलाइएको मृत्युको दर
एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गरेको थियो । तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी प्रदान नगरेको, त्यसको सट्टा हृदयघात प्राकृतिक कारणू हृदयघात निर्दिष्ट नगरिएको र प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता जस्ता शब्दहरू प्रयोग गरिएको एम्नेष्टिले उल्लेख गरेको छ ।

सन् २०१५ देखि विश्व कप सुविधाहरूमा ूकामसँग असम्बन्धितू भनी अभिलेखिकरण गरिएका ३५ मध्ये आधाभन्दा बढी मृत्युका रिपोर्टहरूमा यस्तै वाक्यांशहरू प्रयोग गरिएका थिए, जसले यस्ता घटनाहरूमा अर्थपूर्ण अनुसन्धान नभएको कुरा जनाउँदछ, विज्ञप्तीमा भनिएको छ ।

विभिन्न स्रोतहरूबाट प्राप्त मृत्युको तथ्याङ्कको एम्नेस्टीद्वारा गरिएको विश्लेषणले आप्रवासी श्रमिकहरूको मृत्युको व्यापक रूपमा कारण नखुलाउने गरिएको छ भन्ने जनाएको आधिकारिक कतारी तथ्याङ्कले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५ हजार २१ भन्दा बढी गैर कतारी नागरिकहरूको मृत्यु भएको तर अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्याङ्क अविश्वसनीय रहेको कुरा एम्नेस्टीले दस्तावेजीकरण गरेको छ।

अचानक मृत्यु
एम्नेस्टीले छजना आप्रवासी श्रमिकहरू – चारजना निर्माण कार्यमा संलग्न श्रमिकहरू, एकजना सुरक्षाकर्मी र एकजना ट्रक चालक – को मृत्युलाई विस्तृतमा अनुसन्धान गरेको थियो। ती पुरुषहरूमध्ये कसैलाई पनि कुनै आधारभुत स्वास्थ्यसँग सम्बन्धित समस्या थिएन र कतार जानुअघि सबैजनाले अनिवार्य चिकित्सा परीक्षण गरेका थिए। कुनै पनि परिवारले क्षतिपूर्ति पाएका छैनन्।

४० वर्षीय मन्जुर खाँ पठानले ट्रक चालकको रूपमा दैनिक १२ देखि १३ घण्टा काम गर्थे। आफ्नो क्याबिनमा एयर कन्डिसनिङ खराब भएको कुरा उनले गुनासो गरेका थिए। सन् २०२१ फेब्रुअरी ९ का दिन आफ्नो बस्ने ठाउँमा ढले र एम्बुलेन्स आउनुअघि नै उनको मृत्यु भयो।

३२ वर्षीय सुजन मियाँ मरुभूमिको एउटा परियोजनामा पाइप फिटरको काम गर्थे। उनका सहकर्मीहरूले उनलाई सन् २०२० सेप्टेम्बर ९ को बिहान ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए। सुजन मियाँको मृत्युको चार दिनअघि तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो।

३४ बर्षीय तुलबहादुर घर्ती निर्माण कार्यमा संलग्न थिए। ३९ डिग्री सेल्सियससम्मको तापक्रममा दश घण्टा काम गरेपछि सन् २०२० मेई २८ का दिन सुतेको बेलामा उनको मृत्यु भएको थियो।

३४ बर्षीय सुमन मियाँ निर्माणकार्यमा संलग्न थिए । ३८ डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय काम गरेपछि सन् २०२० फेब्रुअरी २२ का दिन उनको निधन भएको थियो।

३४ बर्षीय यमबहादुर राना विमानस्थल सुरक्षा गार्डका रूपमा काम गर्थे। यो काममा घाममा बाहिर लामो समय बसेर काम गर्नुपर्थ्यो। सन् २०२० फेब्रुअरी २२ का दिन कामको क्रममा उनको निधन भएको थियो।

एम्नेस्टी इन्टरनेसनलले नेपाल र बंगलादेशका पुरुष श्रमिकका परिवारहरूसँग अन्तर्वार्ता लिएको थियो।उनीहरूका नातेदार स्वस्थ भएको आफू विश्वस्त रहेको कुरामा जोड दिंदै परिवारका सदस्यहरू उनको मृत्युको खबरबाट स्तब्ध थिए। आफ्ना नातेदारहरूले नियमित तवरमा काम गर्ने ठाउँमा अत्यन्तै गर्मी र कठिन अवस्थाबारे धेरैले बताए।

कतारमा श्रमिकको जीवन र स्वास्थ्यका लागि सबैभन्दा धेरै दस्तावेजीकरण गरिएको र पूर्वानुमान गर्न सकिने जोखिमहरूमध्ये एउटा मुख्य जोखिम अत्यधिक गर्मी र आद्रताको जोखिम रहेको एम्नेष्टिले जनाएको छ ।

सन् २०१९ मा कतार सरकारले ग्रीस बेस फेम प्रयोगशालाद्वारा यस विषयमा अध्ययन गरेको थियो । कतारी कानूनले उक्त समयमा प्रदान गरेको न्यूनतम सुरक्षात्मक अवस्थामा रहेका श्रमिकहरू तुलनात्मक रूपमा उच्च सुरक्षात्मक स्तरमा रहेका विश्वकप परियोजनामा काम गर्ने श्रमिक समूह भन्दा हृदयघातको उच्च जोखिममा रहेको जनाइएको छ ।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९ देखि २०१७ को अवधिमा भएको ५७१ नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये २०० जति मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको एम्नेष्टि ईन्टरनेशनलले विज्ञप्तीमा उल्लखे गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: