वैदेशिक रोजगारबाट फर्केकाहरुको गुनासो: बैंकका शाखाहरुले धेरै झुलाए

वैदेशिक रोजगारबाट फर्केकाहरुले नेपाल सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा प्रदान गर्न बैंकका शाखाहरु अनुदार भएको गुनासो गरेका छन् । उनीहरुले बैंकहरु अनुत्तरदायी भएको समेत धारणा राखे ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आइतवार रिटर्नी माइग्रेन्ट नेपालले आयोजना गरेको सहुलियतपूर्ण कर्जाका अवसर र कार्यान्वयनका चुनौती बिषयक अन्तरक्रियाका सहभागिहरुले यस्तो धारणा राखे ।

छलफलमा सहभागी लक्षित समुहका युवाहरुले घोषित कर्जा कार्यान्वनमा बैंकका माथिल्ला नेतृत्व सकारात्मक हुँदाहुँदै पनि कार्यान्वन गर्ने इकाई बैंकका साखाहरु अनुत्तरदायी भएको गुनासो गरे । कार्यक्रममा सहुलियतपूर्ण कर्जाको वकालत गर्दै आइरहेको राष्ट्रिय युवा परिषद, रिटर्नी माइग्रेन्टहरुलाई यो कर्जा उपलब्ध गराउंदै आएको एन एम बि बैंक, मेगा बैंक र सिटिजन बैंक, कर्जा प्राप्त गरेका, आवेदन गरेका र कर्जा अस्वीकृत भएका युवाहरु लगायत सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रिय युवा परिषदले सप्ताहव्यापी रुपमा आयोजना गरिरहेको बिभिन्न कार्यक्रमको क्रममा श्रावण २४ गते रिटर्नी माइग्रेन्ट नेपालको अग्रसरतामा काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सहभागी सरोकारवाला रिटर्नी माइग्रेन्ट युवाहरुले कर्जा कार्यान्वयनमा देखिएको समस्या र बैंकका शाखाका कर्मचारीको व्यवहारका बारेमा खुलेर कुरा राखेका थिए । उनीहरुले बैंकको नेतृत्व पक्ष यो कर्जाबारे सकारात्मक रहेपनि कार्यान्वयन गर्ने इकाई भने सकारात्मक नभएको र अनेक प्रश्नहरु तेर्स्याएर सकेसम्म बिना धितोको कर्जा लगानी गर्नै नचाहेको परिस्थिति प्रत्यक्ष ब्यहोरेकोले सबै बैंकका उच्चपदस्थहरुले सहुलियतपूर्ण कर्जाका बारेमा आफ्नै शाखाका कर्मचारीहरुलाई शंकाको दृष्टिले हेर्नुपर्ने माग राखे । २१ दिनभित्र कर्जा उपलब्ध हुने वा नहुने निर्णय गरिसक्नुपर्ने भन्ने व्यवस्था रहेपनि बैंकहरुले २ महिनासम्म पनि झुलाउने गरेको समेत सरोकारवाला युवाहरुले बताए ।

कार्यक्रममा सहभागी सबै बैंकका उच्चपदस्थहरुले बिना धितोको कर्जा सम्बन्धि कतिपय बिषयमा रहेको कानुनी जटिलता, सुरक्षण निकायको असहयोग, कर्जा उपयोगिता र नियमित चुक्ता प्रक्रियामा देखिएको असावधानी जस्ता कुरालाई प्राथमिकतामा राखे । बिश्वासको आधारमा प्रदान गरिने कर्जाले बिश्वास टुट्दाका बखत समस्या सिर्जना गर्ने हुँदा त्यसको सम्बोधन कसरी गर्ने भन्नेमा बैंकहरुले चिन्ता प्रकट गरेका छन् । आफुले गर्ने वा गरिरहेको उद्यमको बिषयमा समेत खुलेर बताउन नसक्ने र हचुवाका भरमा अरु कसैले तयार गरेको कागजात बोकेर आउने गरेकाले पनि सेवाग्राहीले सोचे अनुसारको सेवा पाउने अवस्था नरहेको बैंकका प्रतिनिधिले बताए । बैंकसंग रहेको पूंजी आम नागरिकको बचत भएकोले त्यसको प्रयोग जथाभावी हुन नसक्ने भन्दै कर्जा आफैंमा जटिल बिषय भएकाले सजिलै चाहे अनुसारको समय र प्रकृयामा पाउनुपर्छ भन्ने माग जायज नभएको बैंकका प्रतिनिधिले बताए । माग गरिएको कर्जा के का लागि भन्ने बिषयमा समेत कतिपय सेवाग्राही स्पष्ट हुन नसकेको उदाहरण पाइएकोले यस्ता बिषयमा संवदनशील बन्न सेवाग्राहीलाई बैंकहरुको तर्फबाट आग्रह गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले सहज कार्यान्वयन, कर्जाको सहि ढङ्गले उपयोगिता र नियमित मासिक किस्ता भुक्तानीमा इमानदारीता रहेमा सहुलियतपूर्ण कर्जा देशकै आकर्षक र उपलब्धिपूर्ण कार्यक्रम हुने बताए ।

सहुलियतपूर्ण कर्जाका लागि आफुले अथक प्रयास र निरन्तर रुपमा पक्षपोषण गरेको भन्दै प्रमुख अतिथि ढुंगेलले लाभान्वित सबैले यसमा अत्यन्तै ठुलो इमान्दारिता प्रस्तुत गर्नुपर्ने भन्दै एकाध व्यक्तिको वद्मासीले यो कर्जाको साच्चै आवस्यकता भएका र मिहिनेत परिश्रमले जीवनमा ठुलो परिवर्तन ल्याउन सक्ने क्षमता राख्ने हजारौं सक्षम युवाहरु यो सुबिधाबाट बन्चित हुनसक्ने हुँदा बिशेष हेक्का राख्नुपर्नेमा जोड दिए । उनले बैंकको झन्झटिलो प्रकृया र शाखाका कर्मचारीले सेवाग्राही प्रति गर्ने अस्वभाविक ब्यवहारको भने सम्बन्धित बैंकको उच्च तहले गम्भीर समिक्षा गर्दै सुधार गर्नुपर्ने बताए ।

सेवाग्राहीका गुनासो उनीहरुबाटै बैंकका उच्च तहसम्म पुर्याउने र बैंकको तर्फबाट सेवाग्राहीको कमीकमजोरी उनीहरुकै सामुन्ने प्रष्ट्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: