बढेको तलव साउनदेखि कार्यान्वयन

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुुर्‍याएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवस (मे दिवस) का दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुुर्‍याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिक वापत रु ९ हजार ३ सय ८५ र महँगी भत्ता वापत रु पाँच हजार ६ सय १५ गरी मासिक रु १५ हजार पाउने छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ३ सय ६१ र महँगी भत्ता रु २ सय १६ गरी प्रतिदिन रु ५ सय ७७ पाउने छन् । यस्तै घन्टाको हिसावले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघन्टा रु ७७ पुुगेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४ सय ५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१

यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक रु १२ हजार ८१ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु ११ हजार ५६१ रहेको थियो । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय