वैदेशिक रोजगारीमा जानेहरुका लागि खोप सुनिश्चित गर: आयोग

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि एकपटक मात्र लगाए हुने तथा गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोेखिमबाट बच्न सकिने खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । यसैगरी रोजगारीका लागि जाँदा गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई पर्न सक्ने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानव अधिकारको संरक्षण गर्न पनि आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्दारा जारी विज्ञप्तीमा कतार, साउदी अरब लगायतका मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप नलगाई प्रवेश गरेका नेपाली श्रमिकहरुलाई तोकिएको समय अनिवार्य क्वारेण्टिन बस्नुपर्ने, पि.सि.आर.परीक्षण गर्नुपर्ने तथा पि.सि.आर.परीक्षण नेगेटिभ आए पनि क्वारेण्टिनमा रहनैपर्ने व्यवस्था गरेको स्मरण गरिएको छ । श्रम गन्तव्य मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि अपनाइएका ति प्रावधानले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई आर्थिक व्ययभार बढ्ने देखिएको आयोगले जनाएको छ । तसर्थ आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलगायत अन्य सम्बन्धित निकायहरुलाई पत्रचार गरिसकिएको जनाएको छ ।

आयोगले कोभिड–१९ महामारीमा नेपाली आप्रवासी श्रमिकहरुको मानव अधिकारको अवस्थाका बारेमा गतवर्ष देखि नै अध्ययन तथा अनुगमन गर्दै आइरहेको छ । आयोगले गरेको अध्ययन तथा अनुगमनबाट गन्तव्य देशहरुमा एकतर्फी रुपमा करार भङ्ग गर्ने, बेतलवी बिदामा बस्न बाध्य पार्ने, कामबाट निष्कासन गर्ने, पूरा तलव/सुविधा भुक्तानी नदिने, जबरजस्ती श्रममा लगाउने, मापदण्डभन्दा बढी समय वा जोखिमयुक्त काममा लगाउने लगायतका तथ्यहरु प्राप्त भएको जनाइएको छ । सो तथ्यहरुको आधारमा आयोगले आप्रवासी श्रमिकहरुलाई उद्धार, स्वदेश फिर्ती तथा पुनर्एकीकरण गराई उनीहरुको मानव अधिकार संरक्षणका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई सिफारिस पनि गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय