मजदुरलाई तत्काल कोभिड विरुद्दको खोप दिन माग

राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन तथा बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा (एमाले) की विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदुरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरिन् । एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गरिन् ।

सोही दलकी दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गरिन् । उनले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिरोका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याइन् ।

सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिन् । उनले कैलालीमा तीन वर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाही हुनुपर्नेमा जोड दिइन् । एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताइन् । सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।

नेपाली काँग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) का जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताए । सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गरे । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: