
मलेसियाले लकडाउनको समय थप दुई साता थपेको छ । हाल जारी लकडाउनको समयावधिलाई मलेसियाले जुन १५ देखि २८ सम्म बढाएको हो ।
मलेसियाका बरिष्ठ मन्त्री ईस्माइल साबरी याकोबले कोरोना सङ्क्रमण दर नघटेका कारण जारी लकडाउनको समयावधि थप्नु परेको बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । स्वास्थ्य मन्त्रालयको अनुरोध अनुसार नै लकडाउनको समय थप गरिएको उनले बताएका हुन् ।
दैनिक झण्डै ८ हजारको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेको मलेसियामा लकडाउन सुरु भएपछि हाल सो संख्या ६ हजार आसपास उत्रिएपनि अझै पनि अपेक्षा अनुसार नघटेको सरकारी भनाई छ । लकडाउन भएपनि उत्पादनमूलक उद्योग लगायत भनें खुल्ला रहने व्यवस्था मिलाइएको छ ।