साउदी अरबले कोभिड १९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गरेको व्यवस्थालाई पालना गर्ने सम्वन्धमा भर्खरै साउदी प्रवेश गरेका कुनै विदेशी नागरिकले लापरवाही गरेमा त्यस्ता विदेशी नागरिकलाई पुन: साउदी अरब आउन नपाउने गरी उसकै मुलुकमा फिर्ता पठाउने भएको छ । निक्कै ठूलो प्रयत्नपश्चात कोभिड संक्रमणलाई केहि नियन्त्रणमा राखेको साउदीले संक्रमण पुन: फैलिन नदिन निक्कै कडाई गर्दै आएको छ ।
साउदी अरबका स्थानीय सञ्चार माध्यमहरुका अनुसार कुनै विदेशी नागरिकले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिन सम्वन्धी नियमको उल्लंघन गरेमा त्यस्ता व्यक्तिलाई पुन: साउदी अरब आउन नपाउने गरी उनीहरुकै मुलुक फिर्ता पठाइनेछ ।
साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब पुगेपछि अनिवार्य रुपमा सात दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तो संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु सुरुमा पुगेको शहरमा नै व्यवस्था गरिएको हुन्छ । साउदी अरब प्रवेश गर्ने आठ बर्ष भन्दा माथिका सवै यात्रुले ७२ घण्टा भित्र गरिएको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ । आठ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको भनें पिसिआर परीक्षण गर्नुपर्ने छैन ।
कोभिड विरुद्दको खोपको पुरा मात्रा लगाएका यात्रुले भनें त्यस्तो प्रमाणपत्र बोक्नुपर्ने छैन । खोप पुरा गरेको आधिकारिक प्रमाणपत्र बोकेका यात्रुहरुले क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन ।
साउदी अरब पुगेपछि २४ घण्टाभित्र र ७ औ दिनमा गरी दुईपटक पिसिआर परीक्षण गरिने र पिसिआर परीक्षण नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सक्ने व्यवस्था गरिएको छ । सस्थागत क्वारेन्टिनमा बसेको व्यक्तिमा कोरोना संक्रमण देखिमा भनें क्वारेन्टिनको अवधि १० देखि १४ दिनसम्मको हुने जनाइएको छ । साउदी अकामा भएको व्यक्तिमा साउदी आउने वित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको समयमा कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार साउदी सरकारले गरिदिने व्यवस्था छ । तर भिजिट भिसामा आउनेहरुको खर्च भनें वीमा कम्पनीहरुले व्यहोर्नुपर्ने व्यवस्था छ ।
साउदीको अकामा नभएका र भिजिट भिसामा जानेहरुले भनें साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य बीमा गर्नु अनिवार्य रहेको छ । भिजिट भिसामा साउदी जाने भएमा त्यस्ता यात्राुले कोरोना संक्रमणको उपचार समेत व्यहोर्ने किसिमको स्वास्थ्य वीमा अनिवार्य रुपमा गरेको हुनुपर्दछ ।
यो व्यवस्था गत मे २४ देखि नै लागु भइसकेको हुनाले यसलाई कडाई पूर्वक पालना गर्न साउदी अरब स्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस् नेपालमा खोप पठाउन विदेशमा भएका नेपालीले सघाउने