मलेसियामा बुधवार कोभिड १९ को संक्रमण सुरु भएयताकै सवैभन्दा धेरै संक्रमित फेला परेका छन् । बुधवार ६ हजार ७५ जनामा संक्रमण देखिएको र यो कोभिडको संक्रमण सुरु भएयता एकैदिनमा फेला परेका धेरै संक्रमित भएको जनाइएको छ ।
ट्वीटरमा मलेसियाका स्वास्थ्य महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहले सवैभन्दा धेरै संक्रमित सेलेङ्गरमा देखिएका हुन् । त्यहाँ २ हजार २ सय ५१ व्यक्तिमा संक्रमण देखिएको हो । यसैगरी जोहरमा ६ सय ९९, क्वालालम्पुरमा ६ सय ६० तथा केडाहमा ४ सय ४५ व्यक्तिमा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा कोभिडको संक्रमणका कारण मलेसियामा ४६ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म मलेसियामा २ हजार ४० व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पतालहरुमा सघन उपचार कक्ष (आईसीयू) लगभग भरिन थालेको छ । यसले संकट सिर्जना हुने चिन्ता स्वास्थ्य महानिर्देशक अव्दुल्लाहले व्यक्त गरेका छन् । नेपालमा पनि कोरोनाको संक्रमण तिव्र रुपमा फैलिएपछि हाल आइसीयूहरु भरिएपछि तथा भेण्टिलेटरमा विरामीहरु राख्न नसक्ने अवस्थाका साथै अक्सिजनको चर्को अभावले समस्या पारिरहेको छ ।
मलेसियामा कोभिड संक्रमण भएका मध्ये ८९ दशमलव ८ प्रतिशत व्यक्ति संक्रमण मुक्त भएको स्वास्थ्य महानिर्देशक अव्दुल्लाहले जनाएका छन् । झण्डै चार लाख नेपाली वैधानिक हैसियतमा कार्यरत मलेसियामा ठूलो संख्यामा कागजातविहिन रुपमा काम गर्ने नेपाली श्रमिक पनि रहेका छन् । कोभिडको संक्रमण बढेसँगै सो जोखिमबाट बच्न सजगता अपनाउनु पर्ने देखिएको छ ।
नेपालसँगै छिमेकी मुलुक भारत, बंगलादेश लगायतका मुलुकहरुमा पनि पछिल्लो केहि सातायता कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको छ ।