नेपाली उद्योगमा लाखौं भारतीय श्रमिक, किन नेपाली आकर्षित भएनन् अध्ययन गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली उद्योगहरुमा स्वदेशी श्रमिकहरुको अभावमा भारतीय श्रमिकलाई काममा लगाउनु परिरहेको भन्दै किन यस्तो भइरहेको छ, त्यसको अध्ययन गर्नुपर्ने बताएका छन् । उनले हाल नेपालमा झण्डै सात आठ लाख भारतीय श्रमिकहरु कार्यरत रहेको भन्दै धेरैजसो उद्योगले नेपाली श्रमिकलाई नै रोजगारी दिन चाहे पनि त्यो सम्भव नभएको बताए ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले नेपालमा लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा गरिरहेपनि उद्योगहरूको विस्तार र लगानी किन बढ्न सकेको छैन भन्नेमा पनि ध्यान दिइनु पर्ने बताए ।

अर्को प्रसँगमा बोल्दै गोल्छाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै यसमा अवरोध आउनुको कारण खोजेर त्यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए । उनले श्रम सम्बन्ध सुधारको दिशातिर अगाडी बढी रहेको भएपनि त्यसलाई दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाकी रहेको बताए । त्यसका लागि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उनको भनाई थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै महासंघका अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीको रूपमा देखिएको धारणा राखे ।

सो अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न कठिन परिस्थितिमा आइपर्ने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुंदा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नु पर्नेमा जोड दिदै उनले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाडै मुक्त हुने अपेक्षा प्रकट गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय