वैदेशिक रोजगारमा जानेहरु तथा फर्केकाहरुलाई निःशुल्क सीप तालिम

के तपाई रोजगारीका लागि विदेश जाने योजनामा हुनुहुन्छ ? वा वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै कुनै रोजगारीको खोजिमा हुनुहुन्छ की ? यदि त्यसो भएमा तपाईका लागि निःशुल्क सीप विकास तालिमको अवशर उपलव्ध छ । वैदेशिक रोजगार बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै सञ्चालन गरिरहेको निःशुल्क तालिम तपाईका लागि उपयोगि हुन सक्दछ । विभिन्न विषयमा सुरु गरिएको एक महिनाको सो तालिम गत फाल्गुण १ गतेदेखि सञ्चालनमा छ । बोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेहरुलाई सो सीप विकास तालिम लिन अनुरोध गरेको छ ।

सो तालिम अन्तर्गत कुक, वेटर, हाउस किपिङ, किचन सहयोगी, फ्रण्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्वर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, व्यूटीसियन, जुनियर व्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेण्ट स्काफोल्डर, ईलेक्ट्रिसियन लगायतका तालिम सञ्चालन भइरहेका छन् ।

बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेको १ सय ६० घण्टा समयावधिको सो तालिम लिन वैदेशिक रोजगारमा जान ईच्छुक भएमा पासपोर्ट बनाएको र रोजगारीका लागि विदेश जान चाहेको स्वघोषणा गरेको फारम भर्नुपर्ने छ । यसैगरी वैदेशिक रोजगारबाट फर्केको भएमा समस्यामा परेर फर्केकाहरुलाई प्राथमिकता दिइनु पर्नेछ । सो सीप विकास तालिमलाई स्थानीय तहसँग पनि जोड्ने प्रयास गरिएको छ । यदि स्थानीय तहले तालिम सञ्चालन गर्ने स्थान उपलव्ध गराएमा स्थानीय स्तरमा रोजगारी उपलव्ध हुन सक्ने प्रकृतिको तालिम बोर्डसँग तालिम सञ्चालन गर्ने सम्झौता गरेको संस्थाले उपलव्ध गराउनेछ । त्यस्तो स्थान नभएमा ति संस्थाहरुले आफ्नै तालिम केन्द्रमा पनि त्यस्ता तालिम सञ्चालन गर्न सक्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

बोर्डले सिटीईभीटीसँगको समन्वयमा तोकेको शुल्कमा एक महिनाको तालिम सकेकाहरुले राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी) ले लिने सीप परिक्षण उत्तिर्ण गरेमा सो सहभागिलाई तालिम लिंदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डले फिर्ता दिनेछ । यसका लागि तालिम अवधिमा ९० प्रतिशत हाजिरी तथा सीप परीक्षण उत्तिर्ण गरेको प्रमाणपत्र हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । एक महिने तालिम सकेकाहरुले लेभल १ को प्रमाणपत्र प्राप्त गर्नेछन् । यदि लेभल १ उत्तिर्ण गरेकाहरुले माग गरेमा लेभल २ को तालिम पनि यसैगरी प्रदान गर्न सकिने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले देशपरदेशलाई बताए ।

विभिन्न विषयका तालिम सञ्चालनका लागि विभिन्न प्रदेशहरुमा विभिन्न तालिम प्रदायक संस्थाहरुसँग बोर्ड सचिवालय, सिटीईभीटी तथा ति संस्थाहरुबीच तालिम सञ्चालन सम्झौता भएको छ । यस अन्तर्गत प्रदेश नं १ मा सुम्निमा पोलिटेक्निक ईन्स्टिच्यूट, भोजपुर तथा रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय ईलामसँग सम्झौता भएको छ । यसैगरी प्रदेश नम्वर २ मा निर्मल लामा बहुप्राविधिक शिक्षालय, वर्दिवास तथा बीपी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्यूट, धनुषासँग बोर्डले सम्झौता गरेको छ । बागमती प्रदेशमा बालाजु स्कूल अफ ईञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, नेपाल बनेपा पोलिटेक्निकल ईन्स्टिच्यूट, बनेपा, नारायणी बहुप्राविधिक शिक्षालय, चितवन तथा जिरी प्राविधिक शिक्षालय, दोलखाले तालिम सञ्चालन गरिरहेका छन् ।

यसैगरी गण्डकीमा पोखरा प्राविधिक शिक्षालय, पोखरा, लुम्विनीमा कोरिया नेपाल ईन्स्टिच्यूट अफ टेक्नोलोजी रुपन्देही र शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय, दाङ र भेरी प्राविधिक शिक्षालय, नेपालगञ्जले सम्झौता गरेका छन् ।

तालिमका लागि सम्झौता गर्ने अन्य तालिम प्रदायक संस्थाहरुमा कर्णाली प्राविधिक शिक्षालय, जुम्ला तथा शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यान रहेका छन् । सुदुरपश्चिम प्रदेशमा टीकापुर पोलिटेक्निक ईन्स्टिच्यूट, कैलालीले तालिम सञ्चालन गर्दैछ । सवै शिक्षालयहरुसँग गरेर ७ हजार ३ सय ६० जनालाई सीप विकास तालिम दिने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारमा जानेहरु मध्ये अधिकाँश अदक्ष श्रमिकका रुपमा जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० अनुसार आर्थिक बर्ष २०७४/७५ मा ६६ प्रतिशत नेपाली अदक्ष श्रमिकका रुपमा वैदेशिक रोजगारमा गएका थिए । सन् २०७५/७६ मा भनें ५९ प्रतिशत नेपालीले कुनै पनि सीप विनाको रोजगारीमा जानका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । सीप नहुँदा वैदेशिक रोजगारमा जानेहरुले त्यहाँ न्यून ज्यालामा जोखिमपूर्ण काम गर्नु परिरहेको छ । (तस्वीरः प्रतिनिधिमूलक रुपमा ईण्टरनेटबाट लिइएको हो ।)

यो पनि पढ्नुहोस् स्वदेश फर्केकाहरुलाई रोजगारी सिर्जना तथा सहुलियतपूर्ण ऋणको बारेमा साँसदहरुले मागे जानकारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय