विदेशीनेको लर्को

कोरोना महामारीको सुरुवातसँगै स्वदेश फर्केकाहरु महामारीकैबीच रोजगारीका लागि पुनः भारततिर जान थालेका छन् । मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था नभएका कारणले गुजाराका लागि फेरि भारततिरै जान थालेका हुन् । २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशका झन्डै ३५ प्रतिशत मान्छे रोजगारीको खोजीमा भारततिर जाने गरेको बताइन्छ ।

कोरोना महामारी सुरु भएको बेला कोरोनाको त्रास र लकडाउनका कारणले धेरै नेपाली स्वदेश फर्केका थिए । उनीहरु महामारीकै क्रममा फेरि उतै जान थालेका छन् । महिला, पुरुष, बालबालिका भारततर्फ गएको देख्न सकिन्छ । स्वदेश फर्केर बसी बसी गुजारा नचल्ने अवस्था आएपछि फेरि भारततिरै लागेको कैलालीका गोदावरी नगरपालिका–३ का हुकुम साउँदले बताए । गौरीफन्टा नाकामा भेटिएका उनले आफू दिल्लीमा केही वर्षदेखि ड्राइभिङको काम गर्दै आएको सुनाए ।

‘उता लकडाउन भएपछि काम ठप्प भयो । महामारी पनि बढ्दै गएको थियो’, हुकुमले भन, ‘स्वदेशमै केही गर्ने भनेर फर्केर आएको थिएँ । तर, यहाँ काम पाइएन । फेरि उतै लागेको छु ।’
कोरोना महामारी सुरु भएपछि गौरीफन्टा, गड्डाचौकी, झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीडभाड थियो । अवस्था थोरै सहज भएपछि फेरि उतै जानेको नाकामा भीडभाड भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गएको साउनदेखि पुस मसान्तसम्म गौरीफन्टा र गड्डा चौकी नाकाबाट एक लाख ७२ हजार ५६५ जना नेपाली भारततिर गएका छन् । जसमध्ये अधिकांश रोजगारीका लागि उता गएका हुन् ।

गौरीफन्टा नाकाबाट एक लाख ३६ हजार ३९५, गड्डा चौकी नाकाबाट ३६ हजार १७० जना भारततिर गएको जनाइएको छ । दुवै नाकाबाट उता जानेमध्ये पुरुष सङ्ख्या एक लाख १४ हजार २५८, महिला ३९ हजार ९८९ र बालबालिका सङ्ख्या १९ हजार ३२४ रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यताबाट नेपालीहरु रोजगारी र औषधोपचारका लागि दैनिक भारततिर गइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । ‘अहिले नाका खुल्ला भएपछि यताबाट जाने बढी र उताबाट फर्किनेको सङ्ख्या कम छ’, उनले भने ।

यसैबीच, साउनदेखि पुस मसान्तसम्म भारतबाट एक लाख १८ हजार ८० जना फर्किएका छन् । नाका खुलेपछि केही सङ्ख्यामा भारतीय नागरिक पनि नेपाल आउन थालेका छन् । तर, उनीहरु स्वीकृति लिएर आउनु पर्ने भएकाले हाल नेपाल आउने भारतीय नागरिकको सङ्ख्या पहिलेको जस्तो उल्लेख्य नरहेको प्रमुख जिल्ला अधिकारी महतोले बताए । गोरखापत्रमा यो समाचार धनगढीबाट अविनाश चौधरीले लेखेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: