काठमाडौंकोे सामाखुशी स्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिमा क्यानडा पठाउने भन्दै अवैध रुपमा काम गरेको अवस्थामा चार जना भारतीय नागरिकहरु फेला परेका छन् । अवैधानिक रुपमा क्यानडा पठाउने भन्दै सो मेनपावर कम्पनीमा अवैधानिक रुपमा काम भइरहेको सुचनाका आधारमा वैदेशिक रोजगार विभागको टोलीले आकस्मिक अनुगमन गरेको थियो । सो क्रममा ति भारतीयहरुलाई राखेर सो मेनपावर कम्पनीले अवैध काम गरेको भेटिएको हो ।
अनुगमन टोलीमा संलग्नहरुका अनुसार क्यानडा पठाउने भनेर केहि व्यक्तिसँग ति भारतीयहरुले अन्तर्वार्ता लिइरहेका थिए । विभागले सो कार्य वैदेशिक रोजगार ऐन, २०६४ विपरित रहेको बताएको छ । क्यानडामा श्रमिक पठाउन सो मेनपावर कम्पनीले अनुमति लिएको छैन ।
सो क्रममा विभागको टोलीले अन्तर्वार्ताका लागि संकलन गरिएकाहरुको व्यक्तिगत विवरण, मेनपावर कम्पनीको कम्प्युटर र नक्कली मागपत्रसमेत नियन्त्रणमा लिएको छ । ति भारतीयहरुले क्यानडा जान ईच्छुकहरुसँगबाट भारु ५ हजार, ८ हजार रकम उठाएको रसिद समेत बरामद भएको छ ।
ति भारतीयहरु यसभन्दा केहि समय अगाडी देखि नै सो कार्यमा संलग्न रहेको र पछिल्लो समयमा ट्रिपलस्टार इम्प्लोइमेन्टमा पुगेको सुचना रहेको विभागको भनाई छ ।