
मलेसियाबाट शनिवार १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत ति शव नेपाल ल्याइएको हो ।
यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।
शव लिन गएराति मलेसिया गएको जहाजले शनिवार विहान शव लिएर काठमाण्डौ आएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए ।
शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु भावविह्वल थिए । शव बुझ्न गएका आफन्तको रुवाबासीले विहान विमानस्थलको अवस्था शोकमग्न थियो । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आएपनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको थियो ।