
कतार स्थित नेपाली दूतावासले विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाख भन्दा बढी रकम नेपाल पठाएको छ । दोहा स्थित दूतावासका अनुसार त्यसरी रकम पठाइएकामा १२ जना अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा काम गरेकाहरु तथा दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेकाहरु छन् ।
उनीहरुले तलव सुविधा लगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार उनन्सत्तरी (नेरु झण्डै ४५ लाख) रकम कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको दूतावासले जनाएको छ । सो रकम कन्सुलर सेवा विभागबाट जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट नै प्राप्त गर्न सकिन्छ ।
रकम पठाइएकाहरुमा अल डल्ला क्लीयरिङमा काम गरेका फूलमाया तामाङ (दोलखा) तथा सञ्जय सुतार कार्की (भोजपुर) रहेका छन् । यसैगरी अल बन्दारीमा काम गरेर फर्केका रमला बुढामगर (प्यूठान), रियाज अहमद खान (बाँके), ईशरायल नाउ (बाँके), सञ्च कुमार लिम्वू (झापा), रोशन थापा (संखुवासभा), रेवन्त विके (सल्यान), हेमराज रोक्का (सल्यान), राजु तामाङ (खोटाङ), गण्ट बहादुर गुरुङ (तनहुँ), शत्रुघन यादव (धनुषा), अशोक कुमार मण्डल (धनुषा) तथा नैनवीर विके (रुकुम) रहेका छन् ।