भारत लैजाने क्रममा रहेका तीनजना किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट प्रहरी र माइती नेपालको संयुक्त टोलीले उनीहरुलाई उद्दार गरेको हो ।
संंखुवासभा मकालु गाउँपालिकाका १५ १६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।
संखुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।
शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार तलब हुने भन्दै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ ।
उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।
गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका १० जना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका रहेका थिए । रासस