
कोरोना संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एकजना र पोर्चुगलमा दुईजनाको निधन भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको संख्या तीन सय १५ पुगेको छ ।
समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
यस्तै समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।