
कुवेतमा आवासीय कानून उल्लंघन गरी बसिरहेका विदेशी श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउन पाउने समय थप भएको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले वैधानिकता कायम गर्ने समयावधि एक महिना थप गर्ने निर्णय गरेको हो ।
यसअघि ११ नोभेम्बर २०२० मा सरकारले कुवेतको आवासीय कानून उल्लङ्घनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम गर्न वा कुवेत छोडेर स्वदेश फिर्किन १ डिसेम्बर २०२० देखि ३१ डिसेम्बर २०२० सम्म जरिवाना तिर्ने समयावधि तोकेको थियो ।
नयाँ निर्यणानुसार उक्त अवधि १ जनवरी २०२१ बाट शुरू हुने गरी एक महिना थप गरिएको कुवेत सरकारले जनाएको छ । थप गरिएको अवधिभित्र आवासीय कानून उल्लङ्घनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम नगरे कुवेत सरकारको कानून अनुसार कारबाही गरिने निर्णय सरकारले गरेको छ ।
त्यस्तै उक्त अवधिमा वैधानिक हुन् नसके आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने जनाइएको छ ।