नवनियुक्त श्रम मन्त्रीको पुत्ला जल्यो, गाउँपालिका अध्यक्षद्धारा चुनाव लड्न चुनौति

नवनियुक्त श्रम मन्त्री गौरीशंकर चौधरीले जनमतको अपमान गरेको र आफ्नै प्रतिवद्दता विपरित मन्त्री पदका लागि आफ्नो अडान छोडेको भन्दै उनको निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ । कैलाली क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने हसुलियामा शनिबार प्रदर्शन गर्दै पुष्पकमल दाहाल, प्रचण्ड तथा माधव नेपाल समूहले मन्त्री चौधरीको पुत्ला दहन गरेको हो ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दै चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाएका हुन् । नेकपा भित्रको चर्को विवादका बीच प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा रामेश्वर राय यादव लगायत सातजना मन्त्रीहरुले राजिनामा दिएपछि रिक्त रहेको स्थानमा चौधरी लगायतका मन्त्री नियुक्त भएका हुन् ।

यसअगाडी पुष्पकमल दाहाल, प्रचण्ड निकटका चौधरी केहि दिन अगाडीसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कट्टर आलोचक थिए । मन्त्री चौधरीले संसद् विघटन गरिएको दिन पुस ५ गते हसुलियामा नै आयोजित एक कार्यक्रममा सहभागि भएर प्रधानमन्त्री ओलीको कदमको चर्को आलोचना गरेका थिए । तर अकस्मात उनी मन्त्री भएपछि उनको विरोधमा प्रचण्ड तथा माधव कुमार नेपाल समूह विरोधमा उत्रिएको हो । उनलाई निर्वाचन क्षेत्रमा प्रवेश गर्न समेत नदिने भन्दै विरोधमा उत्रिएको समूहले बताएको छ ।

यसैबीच मन्त्री चौधरीको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कैलारी गाउँ पालिकाका अध्यक्ष लाजुराम चौधरीले आगामी निर्वाचनमा आफूसँग लड्न चुनौति दिएका छन् । केहि दिन अगाडीसम्म प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कार्यलाई असंवैधानिक भनेका चौधरी आश्चर्यजनक ढंगमा मन्त्री बनेको भन्दै अध्यक्ष लाजुरामले तनहुँमा रामचन्द्र पौडेलले दिए झैं आफूले पनि श्रम मन्त्री चौधरीलाई चुनौति दिएको बताएका हुन् ।

चौधरी कैलालीको क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका व्यक्ति हुन् । उनी यसअगाडी विसं २०७३ सालमा पुष्पकमल दाहाल, प्रचण्डको मन्त्रीमण्डलमा कृषि मन्त्री भएका थिए । सो समयमा प्रचण्डको पहिलो रोजाईमा रहेका चौधरी मन्त्री हुनु अगाडीसम्म पनि प्रचण्डकै समूहमा थिए । तर मन्त्री पाएपछि उनले क्याम्प परिवर्तन गरेपछि उनको आफ्नै निर्वाचन क्षेत्रमा विरोध सुरु भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय