
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप कतारले ल्याएको छ । सोमबार राति फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन ल्याएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कतार सरकारले पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई २३ डिसेम्बरदेखि निःशुल्क रुपमा खोप लगाउन थाल्ने बताएको छ । कतार स्वास्थ्य मन्त्रालयका अनुसार, ७० वर्ष नाघेका दीर्घरोगी र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखिने छ ।
छनोटमा परेका व्यक्तिहरुलाई फोन र एसएमएसमार्फत जानकारी दिएर खोप लगाउनका लागि बोलाइने छ । आफ्नो देशमा रहेका सबै नागरिकलाई कतारले २०२१ भित्रमा कोरोना बिरुद्धको खोप लगाउने बताएको छ ।
यसअघि बेलायत, अमेरिका, क्यानडा लगायतका देशहरुले सो खोप प्रयोगको अनुमति दिएर प्रयोगमा ल्याएका छन् । कतारमा झण्डै चार लाख नेपाली कार्यरत छन् ।
कतारमा सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले त्यहाँ बस्ने हरेक व्यक्तिलाई निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउने बताइसकेको छ ।