
मलेशियाले अवैधानिक रुपमा बसिरहेका विदेशी श्रमिकलाई न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्किन पाउने वा निश्चित प्रकृया पुरा गरेर मलेशियामा नै रोजगारी गर्न पाउने व्यवस्था गरेको छ । रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत दुईवटा विकल्प मलेशिया सरकारले अगाडी सारेको हो । यस अन्तर्गत आफ्नो मलेशिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेको हो ।
अवैधानिक रुपमा बसिरहेकाहरुलाई सदुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किने अवशर अन्तर्गत त्यसरी बसिरेकाहरु अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिंगिट तिरेर निश्चित प्रकृया पुरा गरी चेकआउट मेमो लिएर स्वदेश फर्किन सक्दछन् । यसका लागि स्वदेश फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकुमेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ हुनु पर्दछ । यो कार्यक्रम डिसेम्वर २१ देखि सुरु हुँदैछ ।
सो कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुले अनिवार्य रुपमा मलेसियाको अध्यागमन कार्यालयबाट चेक आउट मेमो लिएको हुनुपर्दछ । अन्यथा स्वदेश फर्किन पाइन्न । चेक आउट मेमो लिनका लागि अध्यागमन कार्यालयले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम रुपमा समय लिनु पर्दछ ।
फर्म भर्न चाहनेहरुले आफ्नो पुरा नाम थर, राहदानी वा ट्राभल डकुमेण्ट, मोर्वाइल नम्वर ईमेल ठेगाना हुनुपर्दछ । यति कुरा भएपछि http://sto.imi.gov.my वेभसाइटमा जानुहोस् । त्यहाँ फर्म भरेपछि तपाईको ईमेलमा कन्फर्ममेसन आउँछ । ईमेलमा आउने कन्फर्ममेसनलाई प्रिन्ट गरेर सुरक्षित राख्नु पर्दछ ।
आफूले पाएको मितिमा अध्यागमन कार्यालयमा चेकआउट मेमोको प्रकृयाका लागि जाँदा तीन दिनभित्र कोभिड टेष्ट गरेको रिपोर्ट, राहदानी वा ट्राभल डकुमेण्ट तथा ५ सय रिंगिट भएको बैंक कार्ड, स्वदेश फर्किने टिकट (१४ दिनभित्रको उडान भएको) को बुकिङ साथमा हुनुपर्ने दूतावासले जानकारी दिएको छ ।
आफूले एपोईन्टमेण्ट पाएको समय भन्दा एक घण्टा अगाडी नै सम्वन्धित कार्यालयमा पुग्नु उचित हुने क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ । प्रकृयाका क्रममा कुनै समस्या परेमा मद्धतका लागि दूतावासमा सम्पर्क गर्न क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले बताए । कुनै जानकारी आवश्यक परेमा दूतावासको फोन नम्वर ०३२०२०१८९८/०३२०२०१८९९ मा वा हटलाइन नम्वर ०११६२४७२७७७ मा फोन गर्न सकिने दूतावासले जनाएको छ ।
यसैगरी कसैले मलेशियामा नै रहेर रोजगारी गर्न चाहेमा कम्पनी मार्फत वैधानिक हुन सक्ने अवशर दिएको छ । यसरी रोजगारी गर्न चाहनेहरुले उत्पादनमूलक क्षेत्रको काम, निर्माण, कृषि, क्षेत्रको काममा रोजगारी गर्न सक्ने जनाइएको छ । यसरी स्वदेश फर्किने वा वैधानिक रुपमा मलेशियामा नै बस्ने प्रकृया पुरा गर्न मलेशियाले सन् २०२१ को जुन महिनासम्मको समय दिएको छ । यसका लागि रोजगारदाताले मलेशियाको अध्यागमन कार्यालयमा सिधै सम्पर्क गर्न सक्ने अध्यागमन कार्यालयले जनाएको छ ।
मलेशिया सरकारले यो कार्यक्रममा सहभागि हुनका लागि कुनै व्यक्ति वा निकायलाई मध्यस्थताका लागि जिम्मेवारी नदिईएको भन्दै सम्भावित ठगिबाट जोगिन सचेत बनाएको छ ।