
संयुक्त अरव ईमिरेट्स (युएई) मा कोभिड-१९ (कोरोना भाइरस) विरुद्दको खोप आधिकारिक रुपमा दर्ता भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले चीनको एक कम्पनीले बनाएको खोप दर्ता भएको हो ।
मन्त्रालयले सो खोप कोभिड १९ को महामारी विरुद्द लड्न कोशेढुँगा सावित हुने अपेक्षा गरिएको भन्दै यसले उत्साह जनाएको बताएको छ । चीनको सिनोफार्मले निर्माण गरेको सो खोप यस अगाडी नै युएईमा मात्र १ सय २५ भन्दा बढी मुलुकका ३१ हजार भन्दा बढी स्वयंसेवकलाई परीक्षणका रुपमा लगाइसकिएको र नतिजा सकारात्मक देखिएको बताइएको थियो । युएईका उपप्रधानमन्त्री, मन्त्रीहरु लगायतले सो खोप लगाइसकेका छन् । सो खोप बहराइन, ब्राजिल लगायतका मुलुकहरुमा पनि तेश्रो चरणको परीक्षण गरिएको थियो ।
तेश्रो चरणको परीक्षणमा सो खोप ८६ प्रतिशत सफल देखिएको युएईको स्वास्थ्य मन्त्रालयको भनाई छ । यसैगरी गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुमा सो खोपले शतप्रतिशत काम गरेको र ९९ प्रतिशत व्यक्तिमा एण्टीबडी निर्माण गर्न सफलता मिलेको देखिएको स्वास्थ्य मन्त्रालयको भनाईलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । परीक्षणमा सहभागिहरुमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नदेखिएको उल्लेख छ ।
गत सेप्टेम्वरमा नै युएईको सरकारी निकायले सो खोप लगाउन सुरक्षित रहेको भन्दै सुरुवाती चरणमा अग्रमोर्चामा कार्यरतहरुलाई लगाउने अनुमति प्रदान गरिएको थियो ।