
वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारमा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
यसअघि विभिन्न इजाजतपत्रवाला संस्था (मेनपावर) संस्थाले वैदेशिक रोजगारको लागि कतार प्रहरीमा पठाइदिने भनि विभागको पूर्व स्वीकृती विना अन्तरवार्ता संचालन गरिरहेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागले एसओएस मेनपावर सर्भिस प्रालि, होप इन्टरनेशनल प्राली र डिडि ह्युमन रिसोस प्रालीमा आकस्मिक अनुगमन गरेको थियो । सो क्रममा आकस्मिक अनुगमन टोलीले अन्तरवार्ता संचालन गरिसकेको तथा गरिरहेको अवस्थामा टोलीले आवश्यक कागजात नियन्त्रणमा लिई हाल तिसंस्थाहरु उपर भइरहेको छानविन जारी राखेको छ । छानविनको क्रममा ति संस्थाहरुले वैदेशिक रोजगारमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी र रकम लिएको भनि विभिन्न व्यक्तिहरुवाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको विभागले जनाएको छ ।
“वैदेशिक रोजगारमा कतार प्रहरीमा जाने भनि ति मेपावर कम्पनी वा मेनपावरसँग सम्बन्धित व्यक्ति वा अन्य कुनै मेनपावर कम्पनीमा राहदानी वा रकम बुझाएका व्यक्तिहरुलाई ३० दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेल ठेगाना Monitoring@dofe.gov.np मा मेल गरि उजुरी दिन अनुरोध छ” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।