तरकारीले उकास्दै जीवन

राजेन्द्रप्रसाद पनेरु, मङ्सिर २१, कञ्चनपुर (रासस)
बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । तरकारीखेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ ।

उनी विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथे । त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत भारतीय व्यापारीबाट खरिद गर्नुपर्ने हुन्थ्यो ।

कृष्णपुर नगरपालिकाको बालुवाफाँटामा ससुरालीले तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उनले तरकारीखेती गर्न थालेका हुन् । करिब डेढ दशकदेखि तरकारी खेतीमा संलग्न रहदै आएका रामलालले वार्षिक रुपमा तरकारी बिक्री गरेर रु १० लाख बढी आम्दानी गर्दै आएका छन् । वडामै व्यावसायिक तरकारीखेती गर्नेमा उनी अग्रणी व्यक्तिका रुपमा परिचित छन् ।

सोह्र कट्टाजग्गामा उहाँले काउली मात्रै रोपेका छन् । पहिलो लटको काउली उनले बेचेर रु पाँच लाख आम्दानी हात पारेका छन् । दोस्रो लटमा काउली, बन्दागोभी, गोलभेंडा बेच्नका लागि तयारी अवस्थामा रहेको छ ।

“दुवैजना श्रीमानश्रीमतीको काम नै तरकारीका बेर्ना तयार गर्ने, रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र उत्पादित तरकारीलाई बजारमा लगेर बेच्ने नै हो”, रामलालकी श्रीमती चम्फा चौधरीले भनिन्, “बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म खेतबारीमै हुन्छौं ।”

अरुले तरकारी लगाउन शुरु गर्दा तरकारी बेच्न शुरु गर्ने गरेको उनले बताइन् । डेढकट्टा जग्गामा मात्रै उनले २४ क्विन्टल तनेबोडी उत्पादन गरेका छन् । रामलाल जस्तै बैवाहाका सात जना बढी किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । मौसमी र बेमौसमी तरकारीखेती गरेर यहाँका किसानले आम्दानी लिँदै आएका छन् । तरकारीखेतीमै संलग्न किसान कालुराम चौधरीले खेतबारीमा रोपेको काउली बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी हात पारेको बताए ।

गत वर्ष काउली बिक्री गरेर उनले रु ८० हजार आम्दानी गरेका थिए । सात वर्षदेखि तरकारीखेती गर्दै आएका कालुरामले भने, “अन्नलगायतका अरु बाली लगाउदा थोरै आम्दानी हुने भएकाले धेरै आम्दानी हुने तरकारीखेती गरेर परिवारको खर्च धान्दै आएका छौ, विगतमा जस्तो पेशाकै लागि साहु महाजन कहाँ हात थाप्नु परेको छैन ।”

सीमा क्षेत्र नजिकै रहेको बैवाहाका बासिन्दाले पहिला भारतीय घुमन्ते व्यापारीले ल्याएको तरकारी चर्को मूल्यमा खरिद गर्दथे । हाल गाउँमै तरकारीखेती हुन थालेपछि भारतीयले यहाँबाट तरकारी खरिद गरी लैजाने गरेका छन् ।

सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा दुई परियोजनाअन्तर्गत यस क्षेत्रका किसानलाई आधुनिक तरिकाले तरकारी लगाउनेदेखि बजार व्यवस्थापनको कार्य सिकाउने कार्य हुँदै आएको छ ।

जेटिएको व्यवस्था गरी किसानलाई तरकारीबाली लगाउँदा आउने समस्या निराकरण गर्न निकै मद्दत पुगेको छ । “उन्नतजातका तरकारीका बीउ लगाउनका लागि किसानलाई उत्प्रेरित गरी उत्पादन बढाउनका लागि लागेका छौं”, सहकारीका प्रबन्धन निर्देशक मदनराज भट्टले भने, “यहाँका तरकारी खेतीमा लागेका किसानलाई अरु क्षेत्रका किसानले लगाएको तरकारीको अवलोकन गराई सीप प्रवद्र्धन गर्ने कार्यमासमेत लागेका छौं ।”

किसानलाई उन्नत् बीउ, प्राविधिक सहयोग, कीटनाशक, सिँचाइका लागि पम्प सेट र रासाइनिक मलमा सहयोगसमेत सहकारीले गर्दै आएको छ । कृषि ज्ञान केन्द्रले तरकारीखेतीमा लागेका किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि ५० प्रतिशत अनुदानमा दुई वटा ढुवानीका साधानसमेत उपलब्ध गराएको छ ।

बैवाहाका तरकारीखेतीमा संलग्न किसानले वार्षिक रुपमा रु एक करोडको तरकारी उत्पादन गर्दै आएका छन् । वर्षातका बेला छाडेर अरु सबै महिना यहाँ तरकारीखेती हुँदै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: