
मलेशियामा कार्यरत १७ लाख भन्दा धेरै विदेशी श्रमिकको अनिवार्य रुपमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिने भएको छ । विदेशी श्रमिकका कोभिड १९ को संक्रमण उच्च देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको सरकारका एक बरिष्ठ मन्त्रीले जानकारी दिएका छन् ।
मलेशियाको अनलाइन द स्टारका अनुसार मलेसियाका बरिष्ठ मन्त्री ईश्माईल साब्री याकोबले विदेशी श्रमिकको अनिवार्य कोभिड परीक्षण गरिने बताएका हुन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पहिलो चरणमा क्वालालम्पुर, सेलेंगर, लाबुआन, पेनाङ तथा नेग्री सेम्बीलानमा गरी ८ लाख ८८ हजार ३ सय ४२ जना विदेशी श्रमिकको परीक्षण गर्ने योजना छ ।
यसैगरी मन्त्री ईश्माइलले विदेशी श्रमिकलाई राख्ने होष्टल भिडभाडपूर्ण भएमा प्रति श्रमिक ५० हजार रिंगिट जरिवाना रोजगारदातालाई हुने चेतावनी समेत दिएका छन् । उनले श्रमिकलाई राख्ने आवासको न्यूनतम मापदण्ड अनुरुपको व्यवस्था लागु गराउन मानव संशाधन मन्त्रालयले कार्य गर्ने बताए ।