दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

कतार पुलिसमा नेपाली नागरिकको भर्ना र सोका लागि भएको अन्तर्वार्ता लगायतको विषयमा आफ्नो कुनै संलग्नता नभएको नेपालस्थित कतार दूतावासले बताएको छ । दूतावासले “नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केहि म्यानपावर कम्पनीले कस्तो तालिम उपलव्ध गराएका छन् र भर्ना हुन चाहनेहरु शारिरीक र मानसिकरुपमा कत्तिको स्वास्थ छन् भनेर मेनपावर कम्पनीको सामानय चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय भएका कारण दूतावासले सवारी साधन उपलव्ध गराएको” बताएको छ । कतार पुलिसका लागि कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता नरहेको दूतावासको भनाई छ ।

श्रमिक छनौट प्रकृयामा दूतावासको सवारी साधन प्रयोग भएको विषयमा देशपरदेशले ह्वाट्सएप मार्फत राखेको जिज्ञासामा नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हैलले यसमा दूतावासको कुनै संलग्नता नरहेको बताएका हुन् ।

यसअगाडी नेपालमा रहेका केहि मेनपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागसँग पूर्व स्वीकृति नै नलिई कतार पुलिसमा भर्नाका लागि भन्दै सयौं युवा जम्मा पारेर अन्तर्वार्ता गरेका थिए । राजधानीका ठूला तीनवटा मेनपावर कम्पनीमा सोमवार र मंगलवार वैदेशिक रोजगार विभागले आकस्मिक अनुगमन गर्दा सयौं युवालाई अन्तर्वार्तामा बोलाइएको फेला परेको थियो । त्यसमध्ये केहि मेनपावर कम्पनीको अन्तर्वार्तामा नेपालस्थित कतार दूतावासको गाडी समेत प्रयोग भएको फेला परेपछि दूतावास समेत विवादमा तानिएको छ । सोही विषयमा कतार दूतावासले सो घटनामा आफूले “आफ्ना नागरिकलाई राज्यको निकायका रुपमा सवारी साधन उपलव्ध गराएपनि श्रमिक छनौट प्रकृयामा आफ्नो कुनै संलग्नता नभएको” तर्क गरेको हो ।

कतारको रोजगारीमा नेपाली नागरिकलाई पठाउन सिमित मेनपावर कम्पनीलाई अनुमति दिएर सिण्डिकेट लाद्न खोजिएको भन्ने समाचार सार्वजनिक भइरहेको समयमा तिनै मेनपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति विना नै अन्तर्वार्ता गरेपछि विवाद चर्केको छ । यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत विज्ञप्ती प्रकाशित गरि विरोध जनाइसकेको छ ।

१० मंसिर २०७७, बुधबार