कतार पुलिसमा पठाउने भन्दै स्वीकृति नलिई अन्तर्वार्ता, प्रहरी र एजेण्टबीच घम्साघम्सी

वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा आकस्मिक अनुगमनमा पुग्यो । म्यानपावर कम्पनीले विभागबाट डिमाण्डको पुर्व स्वीकृति नै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिंदालिंदै गर्दा विभागको टोली त्यहाँ पुगेको थियो ।
मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै प्रि अन्तरवार्ता लिइरहेको अवस्थामा भेटिएको अनुगमन टोलीमा खटिएका विभागका अधिकृत कुशल बरालले जानकारी दिए ।

“हामीले म्यानपावरमा छापा मार्ने क्रममा अन्तर्वार्ताका लागि युवाहरुले भरेका फर्महरु समेत भेटेका छौं, अधिकृत बरालले भने ‘कतार पुलिसका लागि अन्तर्वार्ता लिइएको भन्ने पुष्टि भएको छ, म्यानपावरका श्रम प्रतिनिधिले नै अन्तर्वार्ता लिइएको भनेर लिखित कागतमा हस्ताक्षर गरेका छन् ।” थप छानविनका लागि आवश्यक कागजात सहित म्यानपावर कम्पनीलाई विभाग उपस्थित हुन पत्र काटिएको उनले बताए ।

छापा मार्ने क्रममा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको थियो । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरर्वार्ता बन्द गरेर म्यानपावर सञ्चालक, कर्मचारी र अन्तर्वार्तामा सहभागी विदेशी कार्यालयभित्र डेढ घण्टासम्म लुकेका थिए । विभागको अनुगमन टोली र प्रहरी टोलीलाई अटेर गर्दै अन्तर्वार्तामा सहभागी भएका विदेशीलाई म्यानपावरले लुकाएको थियो ।

विभाग टोलीलाई अटेर गरेपछि काठमाडौं महानगरका वडा प्रतिनिधि बोलाएर कार्यालय ढोका फोड्ने तयारी गरेपछि मात्र म्यानपावर कर्मचारीले ढोका खोलेका थिए । जव ढोका खोलियो त्यसपछि विभाग टोलीलाई आवश्यक कागजात लिएर छानविन गर्न सहज भएको थियो ।

विभागले हिजो मात्रै डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनुपर्छ । साथै त्यस डिमाण्डको लागि अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ । सो पश्चात मात्रै अन्तर्वार्ता लिन पाउने प्रावधान छ ।

कतारी पुलिसका लागि भन्दै सुरुमा महिनामा १ लाख र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै अहिले विभिन्न म्यानपावरमा यस्ता अन्तरवार्ता चलिरहेको जानकारी पाएपछि विभागले आकष्मिक अनुगमलाई तीव्र पारेको छ ।

तीन महिनाअघि देखिनै कतारमा श्रमिक पठाउने काममा सीमित म्यानपावर मात्रै सहभागी हुन पाउने गरी सिन्डिकेट लाद्न खोजिएको चर्चा चलेको थियो । संसदीय समितिले पनि सरकारलाई यसबारे छानविन गर्न भनेको छ । यही बेला भटाभटी कतारको रोजगारीका लागि भन्दै अवैध रुपमा अन्तरवार्ता लिने काम चलिहरेको पुष्टि भएको छ ।

होप इन्टरनेशनल, अल(थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल(रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेट लाद्न खोजिएको आरोप अन्य व्यवसायीले लगाउँदै आएका छन् ।

आज यसै विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायीसंघले कतार पुलिसको नाममा भईरहेको गोप्य अन्तर्वार्ताको विरोध गर्दै वैदेशिक रोजगार विभागले गरेको कामको समर्थन गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । साझा सवालबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: