
वैदेशिक रोजगार विभागले एकै दिन दुई ठुला म्यानपावर कम्पनीमा छापा मारेको छ । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा. लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिन लागिरहेको अवस्थामा छापा मारेको हो ।
दुई म्यानपावर कम्पनीले विभागबाट पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिइरहेको पुर्व सूचनाका आधारमा विभागको एक टोलि आकष्मिक अनुगमनमा पुगेको थियो । विभागको अनुगमन टोली गुह्येश्वरी स्थित डीडी ह्युमन रिसोर्समा पुग्दा म्यानपावर व्यवसायी प्रेम कटुवाल सहित केहि विदेशी प्रतिनिधि खादा लगाएर बाहिरिएका थिए ।
डीडी ह्युमनले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै प्रि-अन्तरवार्ता लिइरहेको थियो । म्यानपावरले एउटै ठुलो कोठामा सयौंको संख्यामा युवाहरुलाई राखेर तालिम समेत दिइरहेको थियो ।
विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृति नभएको भन्दै तत्काल सम्पूर्ण कार्य रोक्न लगाएर आवश्यक कागजात माग गरेको थियो । तर म्यानपावरले विभाग टोलीलाई भनें कर्मचारीले तालिम लिएको हो भन्दै काम गरिरहेका थिए । अन्तर्वार्तामा सहभागी युवाहरुले हात हातमा लिएको फर्ममा कतार पुलिसको लागि डीडी म्यानपावरको नाम भएको फर्म देखाएका थिए ।
“२२ म्यानपावर कम्पनीले यस्तै गरेका छन् हामीले मात्र हो र ? यस्तो यो हुँदैछ सबैलाई थाहा छ, हामीले मात्र गरेको हो र ?” डीडी ह्युमनका सञ्चालक बेनीबहादुर कार्की विभाग टोलीसंग सवालजवाफ गर्दै थिए । विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृतिका साथै आजका लागि अन्तर्वार्ता लिन विभागबाट लिइएको अनुमतिको कागजात माग गर्दा ति कुनै पनि कागजात नभएको कार्कीले स्वीकार गरेका थिए ।
उनले डिमाण्डको अन्तर्वार्ता नभई कतार पुलिसमा जानेहरुको लागि प्रारम्भिक छनौट मात्र भएको डिमाण्ड आएपछिका लागि तयारी गरिएको जिकिर गरेका थिए । सो पश्चात विभाग टोलीले आवश्यक कागजात सहित म्यानपावर सञ्चालकलाई विभाग उपस्थित हुन पत्र काटेको छ ।
एसओएसमा सयौंको भीड
विभाग अनुगमन टोली एसओएस म्यानपावर सर्भिसमा पुग्दा सयौंको संख्यामा युवाहरु हातरहातमा आवेदन फर्म लिएर गेटअगाडी लाइनबद्ध भएर बसेका थिए । म्यानपावर कम्पनीको दुवै गेट बाहिर सयौंको संख्यामा भिड भएपनि एसओएस म्यानपावर भित्र अन्तर्वार्ता लिइरहेको विभाग टोलीले भेटेन । अन्तर्वार्ताका लागि सहभागी केहि युवाहरुले म्यानपावर कम्पनीले नै बोलाएर आएको बताएका थिए ।
म्यानपावर कम्पनीले बिहानै अन्तर्वार्ता लिएको जानकारी पाएर नै आएको र केहि साथीहरुले अन्तर्वार्ता दिएका बताएका उनीहरुले बताएका थिए । तर म्यानपावर सञ्चालक भरत खडकाले कतार पुलिसको लागि भनेर कुनै अन्तर्वार्ता नलिएको दावी गरेका छन् ।
हामीले अन्तर्वार्ता लिएका छैनौं, विभाग टोलीलाई जवाफ दिंदै खड्काले भने ‘डिमाण्ड आउने पुर्व सूचनाका आधारमा म्यानपावर वरपर जम्मा भएका होलान् तर हामीले अन्तर्वार्ता छ भनेर उनीहरुलाई बोलाएका होइनौं ।’ सो पश्च्यात बिभाग टोलीले म्यानपावर सञ्चालकलाई आवश्यक कागजात सहित विभाग उपस्थित हुन पत्र काटेको छ ।
यी कम्पनीहरुले सुरुमा मासिक ३ हजार कतारी रियल (करिब एकलाख) र काम शुरु गरेको ३ महिनापछि मासिक ६ हजार कतारी रियल तलब हुने प्रलोभन देखाएका अन्तर्वार्तामा सहभागी भएका युवाहरुले बताएका छन् । साझा सवालबाट साभार
यो पनि पढ्नुहोस् मलेसियामा टप ग्लोव्सका केहि कारखाना केहि समयका लागि बन्द हुँदै