
साउदी अरेबियामा कार्यरत तर साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहेर पनि नपाएका थप केहि व्यक्तिले बहिर्गमन भिषा पाएका छन् । उनीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिषा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्था गरिदिन साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको थियो ।
साउदीस्थित नेपाली दूतावासका अनुसार सो क्रममा थप २७ जनाको बहिर्गमन भिषा प्राप्त भएको छ । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार २ सय १७ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गरेको दूतावासले जानकारी दिएको छ । त्यसमध्ये १ हजार १ सय ९० जनाको नामावली यस अगाडी नै प्रकाशन गरिसकेको छ । बहिर्गमन भिसा जारी भएकाहरुले भिषा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने हुन्छ ।