
मलेसिया स्थित नेपाली दूतावासले कोभिड १९ को संक्रमणको विषयम परिस्थितिलाई मध्यनजर गर्दै संयमित भई मनाउन अनुरोध गरेको छ । दशैं तिहार मनाउने विशेष प्रकृया तथा विधि भएपनि आफू बसोवास गरेको मुलुकको संस्कृति, आफू आवद्ध रहेको पेशा तथा व्यवसायलाई पनि मध्यनजर गर्न दूतावासले आग्रह गरेको छ ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले शुभकामना विज्ञप्ती जारी गर्दै मलेसिया, ब्रुनाई, फिलिपिन्स र ईण्डोनेशियामा रहेको नेपालीलाई शुभकामना प्रकट गरेका छन् ।
यसैबीच मलेसिया स्थित दूतावासको सहजिकरणमा हालसम्म १६ हजार ७ सय २१ जना नेपाली स्वदेश फर्केका छन् । सो दूतावासको कार्यक्षेत्रमा पर्ने मुलुकहरुबाट कोभिड १९ को कारणले अलपत्र परेका नागरिक सो संख्यामा स्वदेश फिर्ता भएको दूतावासले जनाएको छ । दूतावासले यस अप्ठ्यारो परिस्थितिमा एकअर्कालाई गरेको सहयोग, धैर्यता र संयमताप्रति आभार प्रकट गरेको छ ।