मलेशियाबाट नेपाली आमाछोराको उद्धार, नेपाल पठाइयो

सपना बस्याल, मलेशिया-
मलेशियाको सुवाङ्गको, ग्लेनमरीमा सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र बस्दै आएका नेपाली आमा छोरा नेपाल फर्केका छन् । उनीहरु शुक्रवार हिमालयन एयरलाइन्सको उडानबाट नेपाल फर्केका हुन् ।

मलेशियाका स्थानीयहरु, नेपाली समुदाय, ओखलढुङ्गा एकता सेवा समाज र दुतावासको २ महिनाको अथक प्रयास पछि सविना र उनका छोराको सकुशल उद्धार भएको उद्धारकार्यको संयोजन गरिरहेकी शुभद्रा कुमारी लिम्बुले जानकारी दिएकी छन् ।

ओखलढुंगा निवासी ४० वर्षिय सविना र उनका ५ वर्षिय छोराको उद्धार कार्य अति नै चुनौतीपूर्ण भएको लिम्बुको भनाई छ । उद्धार गरी नेपाल पठाउने कार्यमा सविनाले गरेको ईन्कारका कारण समस्या भएकोमा लामो समयसम्मको परामर्शपछि उनी नेपाल फर्किन मानेको लिम्वूले बताइन् ।

सविनाको परिचय खुलेपछि उद्धारका लागि आवश्यक कागजपत्र जुटाउन पनि धेरैले दौडधुप गर्नु परेको थियो । यसैगरी सविनाको उपचार र बस्ने प्रवन्ध मिलाउन पनि धेरै चुनौतिपूर्ण भएको उनको भनाई छ ।

मनकारी केही मलेशियन नागरिकले सेवा र सहयोगको लागि हात बढाएपछि सविनाको उद्धार सफल भएको हो । मलेशियन नागरिकहरुले सविना र उनको छोरासंग मित्रता गरी हेरचाह मात्र नभई आर्थिक सहयोग पनि जुटाएका थिए ।

लिम्बुका अनुसार एक महिना अगाडि सविना बसेको छाप्रोबाट दुतावास र मलेशियन नागरिकको सहयोगमा निकालेर उनलाई मलेशियाको क्वालालुम्पुरस्थित हस्पीटल क्वालालुम्पुरमा उपचार गराईएको थियो । उपचार पश्चात सविनालाई बस्ने व्यवस्था मिलाउन ठुलो संकट भएको थियो । त्यस बखत स्थानीयहरुको पहलमा सेलेडगोर राज्यको क्लाड भन्ने स्थानमा एल्सडाई संस्थाले आफ्नो सेल्टरमा उनीहरुलाई राखि सहयोग गरेको थियो ।

नेपाली आमा छोराको अध्यागमन विभागमा लाग्ने खर्च ओखलढुङ्गा एकता सेवा समाजले जुटाएको थियो भने अन्य खर्च स्थानीय मलेशियनहरु र मनकारी नेपालीहरुले दिएका थिए ।

नेपालमा रहेका आफन्तहरुले सविनाको आमाछोरालाई हेरचारको जिम्मा लिन असमर्थ भएको कारण सविना हाल नेपाली प्रवासी एकता सञ्जाल नामको वैदेशिक रोजगारमा जाने, फर्कने र उनीहरुको परिवारहरुको हितमा काम गर्ने संस्थाको ट्रान्जिट होममा सुरक्षित रहको जनाइएको छ । सविनालाई थप उपचार र पुनस्थापनामा सक्दो सहयोग गर्ने प्रतिवद्धता नेपाली प्रवासी एकता सञ्जालका अध्यक्ष जनकराज शर्माले दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय