मनाईयो मर्यादित कामका लागि विश्व दिवस

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले एक कार्यक्रमको आयोजना गरी मर्यादित कामका लागि विश्व दिवस मनाएको छ । जिफन्ट नियमित ट्रेड यूनियन स्कूलमा आयोजित कार्यक्रममा सो दिवसको महत्व तथा यूनियनकर्मीहरुले गर्नुपर्ने कामका विषयमा चर्चा गरिएको थियो ।

सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले कोभिड १९ का कारण विश्वमा करोडौं व्यक्तिले रोजगारी गुमाई सकेको तथा नेपालमा पनि लाखौं श्रमिक बेरोजगार हुने अवस्था आएको भन्दै त्यसलाई न्यूनिकरण गर्ने तर्फ सवैले मिलेर काम गर्न जरुरी रहेको बताए । उनले महामारीका कारण सिर्जित चुनौतिलाई पार लगाउन यूनियनकर्मीहरुले अझ दरिलोसँग काम गर्न आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष श्रेष्ठले नयाँ रोजगारी सिर्जनाका लागि सरकार, रोजगारदाता र यूनियनहरु मिलेर अगाडी बढ्नु पर्ने भन्दै जिफन्टले त्यसका लागि पहल, प्रयत्न गरिरहेको जानकारी दिए । उनले महामारीका कारण श्रमिकहरुमा मानसिक तनाव बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न पनि काम गर्न जरुरी रहेको बताए ।

सो अवसरमा विशेष वक्ताको रुपमा बोल्दै जिफन्ट अर्गनाईजिङ एकेडेमीका प्रमुख उमेश उपाध्यायले संसारमा सन् २००८ देखि मनाउन थालिएको मर्यादित कामका लागि विश्व दिवस यस बर्ष तेह्रौ दिवसका रुपमा मनाइएको र अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले यस बर्ष नयाँ सामाजिक सम्झौताको विषयलाई नाराका रुपमा अगाडी बढाएको जानकारी दिए । कोभिड १९ को महामारीका कारण नयाँ चुनौति देखिएको र सो चुनौतिलाई पार लगाउन नयाँ सामाजिक सम्झौता हुनुपर्ने आईटीयूसीको धारणा रहेको उपाध्यायको भनाई थियो । महामारीले आर्थिक, सामाजिक क्षति पुगेको भन्दै नेपालमा पनि आर्थिक विकास खुम्चिएको र यसले गरिवी र असमानता बढाउने धारणा राखे ।

उपाध्यायले अप्ठ्यारो अवस्थामा श्रमिकलाई मद्दतका लागि भरपर्दो सामाजिक सुरक्षा आवश्यक पर्ने भन्दै जसको रोजगारी गुम्छ उनीहरुलाई मद्धत गर्न सामाजिक सुरक्षा कार्यक्रम हुनुपर्ने धारणा राखे । नेपालमा हाल पनि अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा नजोडिएका कारण उनीहरु अझ बढी समस्यामा पर्ने बताए ।

स्थानीय सरकारलाई बढी भन्दा बढी श्रमिक केन्द्रीत कार्यक्रम अगाडी बढाउन यूनियनको नेतृत्वको नै भूमिका हुने भन्दै उनले दवावकारी भूमिका खेल्न, श्रमिकको तथ्याँक तयार पार्न र स्थानीय तहको नेतृत्वसँग निरन्तर समन्वयमा रहन आग्रह गरे ।

अर्गनाईजिङ एकेडेमी प्रमुख उपाध्यायले हाल मुलुक समृद्ध नेपाल, सुखी नेपालीको मार्गचित्रमा हिंडिरहेको भन्दै यसका लागि सरकारले सोही अनुरुपको नीति अपनाएको तर यसका लागि एक वा दुई बर्षको प्रयत्नले मात्र सम्भव नहुने बताए ।

सो अवसरमा जिफन्ट महासचिव जनक चौधरीले संसारमा श्रमिकका साझा मुद्धा धेरै रहेको भन्दै मर्यादित काम त्यस्तै मध्ये एक रहेको बताए । कोभिडको महामारीको अवस्थामा कार्यक्रम आयोजना गर्न अप्ठ्यारो अवस्था रहेको भन्दै उनले जिफन्टले यस दिवसलाई सदैव प्राथमिकतामा राख्दै आएको बताए ।

मर्यादित कामको नारा संसारभरीका ट्रेड यूनियनहरुको साझा मुद्धा हो । यसमा श्रमिक अधिकारको पक्षमा काम गर्दै आएका सम्पूर्ण संघसंस्थाहरुको ऐक्यवद्धता रहँदैै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय