वैदेशिक रोजगार कार्यालय, ताहचलमा थप चार कर्मचारीलाई कोरोना संक्रमण, सेवा भनें नरोकिने

वैदेशिक रोजगार कार्यालय, ताहचलमा थप चारजना कर्मचारीलाई कोभिड-१९ (कोरोना भाईरस) को संक्रमण भएको छ । यस अगाडी सो कार्यालयका एक कर्मचारीलाई कोभिड संक्रमण भएको थियो ।

एकजना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएपछि केहि दिन सेवा रोकिएर कार्यालयले पुनः सेवा सुरु गरेको भोलिपल्ट नै थप चार जनामा कोभिड संक्रमण पुष्टि भएको हो । गत शनिवार कार्यालयका जोखिमको सूचिमा परेका ३२ जनाको स्वाब संकलन गरिएकोमा चारजनामा संक्रमण पुष्टि भएको हो । संक्रमित भएका मध्ये सुरक्षा गार्ड, सफाई कर्मचारी तथा केहि कर्मचारी हुन् ।

तत्काल वैदेशिक रोजगारमा जानु पर्ने श्रमिकको समस्यालाई मध्यनजर गर्दै संक्रमणका बीच कार्यालयले जोखिम न्यूनिकरण गर्दै सेवा भनें सुचारु गरेको छ । कार्यालयले हाल पुनः श्रम स्वीकृति दिने कार्य जारी राखेको छ । सामाजिक दुरी कायम गर्दै र सुरक्षाका मापदण्डलाई कडाईका साथ लागु गर्दै तुलनात्मक रुपमा सिमित मात्रामा इ-टोकन वितरण गरी सोमवार देखि कार्यालयले पुनः सेवा सुरु गरेको छ ।

कार्यालयले तत्काल रोजगारीमा जानु नपर्नेहरुलाई अवको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध गरेको छ । यसले तत्काल रोजगारीका लागि विदेश जानु पर्नेहरुलाई सहज हुने कार्यालयको भनाई छ ।

अत्यावश्यक परेर पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई पनि सम्वन्धित गन्तव्य मुलुकहरुले कोभिड १९ को जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न लागु गरेका नियमहरु बारे जानकारी लिन र सोही अनुसार आवश्यक कागजातहरु लगायतको तयारी पुरा गरेर मात्र अनलाइन आवेदन दिन कार्यालयले अनुरोध गरेको छ ।

काठमाडौं स्थित कार्यालयले सेवा सुरु गरेपनि कतिपय प्रदेश स्थित कार्यालयहरुले सेवा सञ्चालन नगर्दा त्यसको दवाव काठमाडौंमा परेको छ  । प्रदेश नं १ स्थित श्रम तथा रोजगार कार्यालयले जोखिम देखाउँदै हालसम्म रोकिएको पुनः श्रम स्वीकृति प्रदान गर्ने सेवा सुरु गरेको छैन । सो कार्यालयलाई सेवा सुचारु गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नसक्दा यसले काठमाडौं स्थित कार्यालयमा भीड बढेर जोखिम बढाएको छ भनें श्रमिकलाई समेत समस्या सिर्जना भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: