विदेशबाट फर्केकालाई नगरपालिकाले उद्यमका लागि निव्र्याजी ३ लाखसम्म ऋण दिने

कोभिड-१९ का कारण पछिल्लो ६ महिनायता हजारौं नेपाली युवाको रोजगारी गुमेको अनुमान छ । झण्डै ६० हजार नेपाली यसबीचमा हवाई माध्यमबाट स्वदेश फर्किएका छन् भनें भारतबाट स्थलमार्ग हुँदै आउनेहरुको संख्या लाखौंमा छ । देशभित्रै पनि रोजगारी गुमाउनेहरुको संख्या ठूलो रहेको अनुमान छ ।

कोभिड-१९ का कारण सिर्जित रोजगारी अभावलाई मध्यनजर गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवालाई उद्यमी बनाउने उद्धेश्यले मेयर उद्यमशीलता विकास कार्यक्रमको तयारी गरेको छ । सो कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाखसम्म ऋण उपलव्ध गराउने नगरपालिकाको योजना छ ।

चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रका अनुसार नगरपालिका भित्रका २१ देखि ५० बर्ष उमेर समूहका र उद्यमी बन्न चाहनेहरु सो कार्यक्रममा संलग्न हुन र उद्यमी बन्न सक्नेछन् । यसमा वैदेशिक रोजगारबाट फर्केकाहरु तथा स्वदेशमा नै रहेका र रोजगारीको खोजिमा रहेकाहरु सहभागि हुन पाउनेछन् । ऋण लगानीका विषयमा सो नगरपालिका र नेपाल बैंकबीच सहमति जुटेको छ ।
सो कार्यक्रममा सहभागि हुनेहरुले सुरुमा आफूले गर्न चाहेको उद्यम, त्यसका लागि लाग्ने लागत, ऋण चुक्ता लगायतको योजना बनाउनु पर्नेछ । कुनै सीप आवश्यक परेमा नगरपालिकाले नै त्यसका लागि व्यवस्था गर्नेछ ।

स्वीकृृत भएका अवधारणा पत्रका आधारमा नगरपालिकाको सिफारिसमा नेपाल बैंकले अधिकतम ३ लाखसम्म ऋण सुविधा उपलव्ध गराइदिन्छ । यसका लागि ऋण लिने व्यक्तिले कुनै धरौटी राख्नुपर्दैन । नगरपालिकाले नै जमानी बसेर उपलव्ध गराइदिने ऋणको व्याज समेत ५ बर्षसम्म नगरपालिकाले नै तिरिदिने भएको छ । तर सो समयाविधि भित्रमा ऋणको साँवा भनें ऋण लिने व्यक्तिले नै किस्तावन्दीमा भुक्तानी गर्नुपर्दछ ।

नगरप्रमुख मिश्रका अनुसार यसका लागि नगरपालिकाले नेपाल बैंकमा ३ करोड रकम मुद्धती खातामा जम्मा गरिदिनेछ भनें बैंकले कुल ९ करोडसम्म ऋण प्रवाह गर्ने सहमति भएको छ । कोभिड १९ को संक्रमण फैलिएर जारी निषेधाज्ञाका कारण कार्यक्रम सुरुवातमा केहि ढिलाई भएपनि यहि भदौ महिनाभित्रमा नै यसको सुरुवात हुने नगरप्रमुख मिश्रले बताए ।

सो नगरपालिकाले गरेको प्रयासलाई आप्रवासी श्रमिकको हकअधिकारका पक्षमा कार्यरत व्यक्ति तथा संघसंस्थाहरुले सराहना गरेका छन् । आप्रवासी श्रमिकको अधिकार क्षेत्रमा विगत लामो समयदेखि कार्यरत सरु जोशीले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किन चाहने नेपाली श्रमिकलाई राज्यले उचित व्यवस्था गर्नुपर्ने बताइन् । उनले विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाईमा रहेकाहरुलाई राज्यले मर्यादा सहित आउ घर फर्क भनेर भन्न सक्नुपर्ने धारणा राखिन् ।

नेपाल पोलिसी ईन्टिच्यूट, वुमन ह्मेनेटेरियन एण्ड डीआरआर प्ल्याटफर्म तथा फोरम फर युथ ईन डीआरआरएमले आयोजना गरेको वेबेनायरमा बोल्दै जोशीले नेपालमा पछिल्लो समयमा व्यापार घाटा, श्रमिक अभाव तथा बालबालिका तथा परिवारका अन्य सदस्यले हेरचाह अभाव खेपिरहेको अवस्थामा स्वदेश फर्किनेहरुलाई अवसरका रुपमा लिएर उनीहरुलाई स्वदेशमा नै उद्यममा संलग्न गराउनुपर्ने खाँचो औंल्याईन् । “हामी नेपाली गुन्द्रुक, जनै जस्ता कुरा समेत आयात गर्न थालिसकेका छौं”, जोशीले भनिन्, “यो अवस्थामा स्वदेश फर्किनेहरुलाई उद्यममा जोडेर व्यापार घाटा कम गर्ने देखि परिवारको हेरचाहसम्मका कुरालाई व्यवस्थीत गर्न सक्दछौैं ।”

अर्को प्रसँगमा बोल्दै नेपाल पोलिसी ईन्स्टीच्यूटकी निर्देशक समेत रहेकी जोशीले राज्यले वैदेशिक रोजगारीमा जान चाहने महिलालाई दुई दशकभन्दा लामो समयदेखि विभेद गरिरहेको धारणा राखिन् । “विगत २१ बर्षदेखि महिलालाई हेर्ने सरकारको दृष्टिकोण उस्तै छ” उनले भनिन्, “कहिले कुन नाममा त कहिले कुन नाममा गर्ने बन्देजका कारण अनौपचारिक बाटो भएर जान बध्य पार्दै थप जोखिममा पार्ने काम भइरहेको छ ।” उनले त्यसरी अनौपचारिक बाटो भएर रोजगारीका लागि विदेश पुगेकाहरुलाई वर्तमान महामारीको समयमा समेत स्वदेश फर्किने बाटो खुल्ला नभएको भन्दै उनीहरुको दर्ता खुल्ला गर्नुपर्ने धारणा राखिन् ।

सो अवसरमा सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका अध्यक्ष अशोक रानाले चाँगुनारायण नगरपालिकाले गर्न खोजेको कामको प्रशंसा गरे । उनले कृषि लगायतका क्षेत्रमा उपलव्ध रोजगारीमा कोभिडका कारण रोजगारी गुमाएर फर्किनेहरुलाई जोड्नुपर्ने अपरिहार्यताका बारेमा चर्चा गरेका थिए । यसैगरी श्रमका आधारमा कसैलाई उच्च र कसैलाई तल्लो दर्जाको ठान्ने नेपाली परम्परा रहेको भन्दै त्यसमा सुधारको आवश्यकता औंल्याए ।

छलफलमा श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनिल न्यौपानेले महामारीका कारण सिर्जित संकटलाई अवसरको रुपमा लिंदै नेपाली युवालाई नेपालमै काम गर्ने अवसर सिर्जना गर्न जरुरी रहेको बताए । उनले नेपालमा खासगरी भारतीयहरुले गर्ने कामको पहिचान, सो काममा नेपालीलाई संलग्न गराउन आवश्यक पर्ने सीप विकासका साथै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । मासिक कमाईमा अभ्यस्त वैदेशिक रोजगारबाट फर्किनेहरुलाई कृषिमा टिकाउन आइपर्ने चुनौतिको चर्चा गर्दै अध्यक्ष न्यौपानेले आधुनिक खेती प्रणाली अवलम्वन, सीप विकास र बजारसँग जोड्ने विषयमा राज्यका निकायहरुले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न गैरसरकारी संघसंस्थामा कार्यरत व्यक्तिहरु तथा विदेशमा कार्यरत नेपालीले आफ्ना धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस् स्वदेशमै थप दुई लाख व्यक्तिलाई रोजगारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: