गैर आवासिय नेपालीलाई पनि सहज रुपमा नेपाल फर्किने व्यवस्था गर्न माग

 

गैरआवासीय नेपाली संघले गैर आवासिय नेपालीलाई सहज रुपमा स्वदेश फर्किने वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई शर्त सहित स्वदेश फर्काउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भएपनि गैरआवासीय नेपालीका सन्दर्भमा कुनै सम्बोधन नभएको भन्दै सो आग्रह गरेका हुन् ।

सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनलाई उधृत गर्दै संघले विज्ञप्ती प्रकाशित गरेको छ । नेपालमा आफन्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

यसैबीच विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह गरे ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यस्तै नेपालमा मात्र ३१ हजार १ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । ति मध्ये १८ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । संक्रमणबाट मुक्त हुने संख्याको ५९ प्रतिशत रहेको छ । नेपालमा शनिबार साँझसम्म १४६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय