‘सरकार अव हामी परेदशमा भोकै मर्नु ?’

साउदी अरवमा रहेका सर्लाहीको लालवन्दीका रुपेश मगर झण्डै एक महिनायता कम्पनीमा काम नभएर कोठामै छन् । उनले नेपाल फर्किन दूतावासमा फारम भरे र नाम पनि सूचिमा निस्कियो । यो कुरा कम्पनीलाई जानकारी गराएर नेपाल फर्किने अन्तिम तयारीमा थिए उनी । कम्पनीले बहिर्गमनका लागि गर्नुपर्ने सवै प्रकृया सकिएको र नेपाल फर्किन तयार रहनुु भनेपछि उनी सहित चारजना अव घर फर्किने दिनको पर्खाइमा थिए । मेडिकल समेत गरिसकेको अवस्थामा अकस्मात उडान स्थगित भएको समाचार सार्वजनिक भयो । यसले तनाव थपेको छ उनलाई ।

उडान स्थगितको निर्णयले परदेशमा अप्ठ्यारो अवस्थामा परेर स्वदेश फर्किने पर्खाइमा रहेकाहरुलाई आक्रोशित बनाएको छ । यो कुरा विभिन्न गन्तव्य मुलुक स्थित नेपाली दूतावासहरुका फेसबुक पेजमा सहजै देख्न सकिन्छ । दूतावासहरुले उडान स्थगन सम्वन्धमा जारी गरेका सुचनामा प्रतिकृया लेख्नेहरु र रियाक्ट हेर्दा घर फर्किने पर्खाइमा रहेकाहरुको तनाव झल्किन्छ ।

साउदी अरव स्थित नेपाली दूतावासको फेसबुक पेजमा सुचना सार्वजनिक भएको १२ घण्टामा २ सय ५९ जनाले प्रतिकृया लेखेका छन् जहाँ अधिकाँश प्रतिकृया गालीगलौचले भरिएका छन् । यो परदेशी भूमिका आपत परेर स्वदेश फर्किने व्यग्र प्रतिक्षामा रहेको अवस्थामा सरकारले गरेको निर्णयको प्रतिवाद हो । दूतावासको फेसबुक पेजमा हिमाल भण्डारीले लेखका छन्, हाम्रो टिकट, मेडिकल सवै भइसकेपछि किन यस्तो गरियो ? हामी १४ जना छौं र हामी कोठामा बसेको ६ महिना भयो । खाने पनि पैसा छैन । कम्पनीले केहि दिंदैन, सवै खर्च आफ्नै हो ।

रिखे बोहरा लेख्छन्, काम छोडेर बसेको सात महिना भयो, घरबाट श्रीमतिले ऋण लिएर पठाएको पैसा पनि सकियो । अव पागल हुने बेला भइसक्यो, साह्रै दुःखपूर्वक बसिरहेको छु । फारम भरेकै दुई महिना भयो ।

यसैगरी हर्क धामी लेख्छन्, अनी मेडिकल गरेको पैसा चाहिं कसले दिन्छ त ? मेडिकल त दोश्रो पटक पनि गर्नुपर्ला । खाने पैसा छैन, कतिपटक मेडिकल गर्नु ? कस्तो गैह्र जिम्मेवार काम गरेको ?

कतारमा कार्यरत नेपालीको प्रतिकृया पनि उस्तै छ । दूतावासले सुचना सार्वजनिक गरेको पोष्टमा तिलक राजाले लेखेका छन्, पटक पटक हामीलाई यस्तो किन भइरहेछ ? चार महिना भयो खाली हात बसेको । कहिले जाने हो हामीहरु, यसरी जालझेल खेल किन भइरहेछ ?

यसैगरी कुमार कान्छ लेख्छन्, कुनै दिन विदेशिनु पर्दा पनि यति धेरै टेन्सन थिएन होला, जति आज नेपाल जानलाई छ । हे भगवान तिम्रो लिला पनि अनेकौं छ, जतिसकिन्छ, चाँडो घर जान पाउँ ।

मलेसियामा कार्यरत ईरफान अन्सारी लेख्छन्, टिकट काटिसकेको छ, खाने पैसा समेत छैन, हामी धेरै दुःखमा छौं, अव अझै कसरी पर्खिनु ?
नेपाल फर्किने पर्खाइमा रहेका अधिकाँशले सरकारले लाचारीपूर्ण काम गरेको, अन्याय गरेको तथा आफूहरुलाई टिकट काटेको तथा मेडिकल समेत गरिसकेको अवस्थामा एकाएक उडान स्थगितको निर्णय गरेर अप्ठ्यारोमा पारेको प्रतिकृया दिएका छन् ।

यसअघि सोमवार सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको थियो । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसी ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेपछि त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो ।

फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । त्यसरी उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै पर्यटन मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेपछि होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिनेगरी उडान अनिश्चितकालका लागि रोकिएको हो ।

तस्वीर, मेघराज सापकोटाको फेसबुकबाट प्रतिकात्मक रुपमा प्रयोग गरिएको हो ।

यो पनि पढ्नुहोस् युएईमा आममाफी, पुनः युएई फर्किन पनि बन्देज नलाग्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय